नेपालको कृषिमा एआईको भूमिकाबारे दुईदिने अन्तरक्रियात्मक छलफल सुरु

Technology Khabar १२ असार २०८२, बिहीबार

काठमाडौं ।

नेपालको कृषि क्षेत्रको भविष्यलाई आर्टिफिसियल इन्टेलिजेन्सले कसरी आकार दिइरहेको छ भन्नेबारे अन्तरक्रियात्मक र छलफल कार्यक्रम राजधानीमा सुरु भएको छ।

ए²–एग्री एण्ड एआई इनोभेसन स्टोरीटेलिङ (जुन २६–२७, २०२५) नामक दुई दिने कार्यक्रमको पहिलो दिनको कार्यक्रम खुमलटारको नेपाल कृषि अनुसन्धान परिषद (NARC) मा आयोजना गरिएको हो। कार्यक्रममा किसान, अनुसन्धानकर्ता, स्टार्टअप र नीति निर्माताहरूले भाग लिएको आयोजकले उल्लेख गरेको छ।

पहिलो दिनको स्टोरीटेलिङको सत्रमा डाक्टर अनुपमा श्रेष्ठले ‘माटोमा जीवाणुको महत्व’ शिर्षकमा आफ्नो प्रस्तुति दिइन्। डाक्टर श्रेष्ठले तरकारी वालीमा लाग्ने रोग नियन्त्रर्ण गर्नका लागि डिजिटल टेक्नोलोजी र एआई प्रयोग गर्न सकिने बताइन्।

साथै उनले क्लब रुट डिजिजेज, मसरुम डिजिजेज, इनएडुकेट बायो फर्टिलाइजर्स जस्ता समस्याहरुको उल्लेख गरिन्। साथै ‘प्रमोसन अफ अर्गानिक एग्रीकल्चर थ्रु कम्युनिटी सपोर्ट’ कार्यक्रममार्फत विषादीमुक्त तरकारीहरु बिक्री गर्दा सोझै २० प्रतिशत बढी आम्दानी हुने र किसानहरुलाई प्रतक्ष रुपमा फाइदा हुने गरेको डाक्टर श्रेष्ठले थपिन्।

सीआईएमएमवाईटीमा कार्यरत सतिस मर्हजनले डिजिटल सोयल म्यापको बारेमा जानकारी दिएका थिए। उनले यो डिजिटल सोयल म्याप soil.narc.gov.np मा गएर जाँच गर्न सकिने र नक्सामा नेपालको कृषिसम्बन्धी जानकारीहरु जस्तै माटो, मल, बाली नक्साका साथै माटोको बनोट, जैविक पदार्थ सम्बन्धी जानकारी समावेश रहेको बताए।

उनले कृषि क्षेत्रमा विद्यमान विभिन्न समस्याहरु समाधान गर्नको लागि कृषि एपहरु प्रयोग गर्दै एआई प्रयोग गर्न सकिने बताए। त्यसैगरी मर्हजनले उनी लगायत उनको टोलीले छरिएका सोयल डाटाहरुलाई मेसिन लर्निङ फर्म्याटमा तयार पारेका जानकारी पनि दिए।

स्टार्टअपको तर्फबाट राजन दाहालले किसनहरुले पैसा नपाउने समस्याको बारेमा प्रकाश पार्दै आफ्नो आईटी कम्पनीले तयार पारेको ‘कनेक्ट किसान’ नामक कृषि एपको जानकारी दिए।

किसानहरु प्रविधिसँग परिचित भए तापनि उनीहरु टेक्स्ट बेस्ड (शब्द आधारित) एप प्रायोग गर्न खासै अभ्यस्त नभएको र त्यसैले उनको कम्पनीले बरु भ्वाइस बेस्ड एआईमा काम गरिरहेको र त्यस्तो एप तयार पारेको थप उल्लेख गरे।

हाल प्रारम्भिक चरणमा रहेको यस नयाँ एपमा २ हजार जस्तो संख्यामा प्रश्नहरु प्राप्त भएको उनले खुलासा गरे।

दोस्रो दिनको कार्यक्रम शुक्रबार नर्म एग्रो फार्ममा हुनेछ जुन एआई–सञ्चालित बाली अनुगमन र पशुधन व्यवस्थापन प्रणालीहरूको प्रत्यक्ष प्रदर्शनमा कार्यक्रम केन्द्रित रहने बताईएको छ।

यस दिनको कार्यक्रममा किसान, वैज्ञानिक र युवा उद्यमीहरूसँग अन्तरक्रियात्मक छलफलहरू समावेश हुनेछन् जसले रियल वर्ल्ड एप्लिकेशनहरू र स्थानीय सफलताका कथाहरूमा प्रकाश पार्ने बताइएको छ।

प्रकाशित: १२ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया