Technology Khabar १२ असार २०८२, बिहीबार
काठमाडौं ।
सरकारी निकायले अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय भई एकीकृत डाटा व्यवस्थापन कार्यालयबाट सञ्चालित सबै वेबसाइटहरु असार मसान्तभित्र सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा अनिवार्य सार्नुपर्ने भएको छ।
विभागले हालै एक सूचना पुन: प्रकाशन गर्दै आईडीएमसी अर्थात् एकीकृत डाटा व्यवस्थापन कार्यालयबाट सञ्चालित सी प्यानलमा रहेका सबै वेबसाइटहरु असार मसान्तपछि बन्द हुने भएकाले त्यसअघि नै जीआईडब्लूएमएस अर्थात् सूचना प्रविधि विभागले विकास गरेको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा सार्न सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो।
गत वर्षको कार्तिक ७ गते विभागले मुख्यसचिवको संयोजकत्वमा बसेको सचिवस्तरीय बैठकबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (GIWMS) लाई सबै सरकारी निकायले अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय गरिएको थियो।
यो निर्णय भएको एक हप्तापछि २०८१ कार्तिक १३ गते पहिलोपटक सूचना प्रकाशित गरेर सम्बन्धित सबै निकायलाई सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा स्थानान्तरण हुन आह्वान गरेकोमा केही स्थानान्तरण भएका भए पनि करिब २ हजारभन्दा बढी वेबसाइटहरु अझै पनि यो प्रणालीमा आइनसकेकाले विभागले यसै हप्ता उक्त सूचना पुन: प्रकाशन गरेक रबैलाई समयमै स्थानान्तरणका लागि फेरि एकपटक आग्रह गरेको हो।
प्रकाशित: १२ असार २०८२, बिहीबार