Technology Khabar ११ असार २०८२, बुधबार
काठमाडौं ।
आइडियल मोडल स्कुल, जाउलाखेलका विद्यार्थी प्रसुन भट्टले राष्ट्रियस्तरको ‘लाइफ कम्प्युटर वेबसाइट कम्पिटिसन सिजन ७’ को उपाधि जित्न सफल भएका छन्।
देशभरका विभिन्न स्कुलका विद्यार्थीहरूले निर्माण गरेका ९८१ ओटा वेबसाइटमध्ये उत्कृष्ट २० छनोट गरिएपछि, त्यसैबाट उत्कृष्ट १० र अन्ततः उत्कृष्ट ३ जनामध्ये प्रसुन भट्टले उत्कृष्ट प्रस्तुति, सफा कोडिङ, युजर फ्रेन्ड्ली डिजाइन र प्राविधिक दक्षताको आधारमा निर्णायकहरूको उच्च मूल्याङ्कन पाउँदै पहिलो स्थान हासिल गरेका हुन्।
दोस्रो स्थानमा आर्दश सौल युवक माध्यमिक विद्यालय, ललितपुरका सुशील खड्का र तेस्रो स्थानमा श्री सुन्दरी माध्यमिक विद्यालय, धादिङका आदेश भण्डारी रहे। विजेताले एक लाख बराबरको ल्यापटप पुरस्कार पाउँदा, दोस्रो स्थान विजेताले नगद ५० हजार बराबरको उपहार र तेस्रो स्थान विजेताले नगद ३० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनशीलता र प्रविधि प्रतिको लगाव बढाउने बताए। उनले प्रविधिलाई करियरको रुपमा हेर्ने सोच विस्तार गर्न यस्ता प्लेटफर्महरू महत्वपूर्ण हुने बताएका थिए।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालय सूचना तथा प्राविधिक केन्द्रका निर्देशक प्रा. डा. सुवर्ण शाक्यले प्रतियोगिताले विद्यार्थीहरूमा हौसला बढाएको उल्लेख गरे। कम्प्युटर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले सानो उमेरमै वेबसाइट निर्माणजस्तो प्रविधिक विधामा विद्यार्थीहरूको उत्साह देख्दा आफू प्रभावित भएको प्रतिक्रिया दिएका थिए।
युनिभर्सल पिस फाउन्डेसन साउथ एसियाका क्षेत्रीय निर्देशक प्रकाश बाबु थापाले प्रतियोगितामा देखिएको प्रतिभालाई उल्लेखनीय भन्दै विद्यार्थीहरूको सिर्जनात्मक उचाइको प्रशंसा गरे।
लाइफ कम्प्युटरका सीईओ रमेश पोखरेलले यस्तो प्रकारको प्रतियोगिता मार्फत विद्यार्थीहरूमा डिजिटल सीपको विकास गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताए।
कार्यक्रममा ‘बेस्ट टिम मेम्बर अफ द इयर’ बाट उत्कृष्ट टिम सदस्य कृष्ण ढुंगेललाई सम्मानित गरिएको थियो।
प्रकाशित: ११ असार २०८२, बुधबार