प्रविधिमैत्री बन्दै गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक गर्यो मोबाइल एप, सेवा घरबाटै पाइने

Technology Khabar ११ असार २०८२, बुधबार

काठमाडौं ।

गोकर्णेश्वर नगरपालिकाले नागरिकहरूको सुविधा लक्षित गर्दै आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ। यस एपमार्फत नगरवासीहरूले घरमै बसेर विभिन्न सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

नगरपालिकाका अनुसार, “गोकर्णेश्वर नगरपालिका एप” मा गुनासो र सुझाव पठाउने, विकास योजनाका विचार साझा गर्ने, सूचना र समाचार पाउने, आपतकालीन सेवा सम्पर्क गर्ने तथा धार्मिक–पर्यटकीय स्थलहरूको जानकारी प्राप्त गर्ने सुविधा समावेश गरिएको छ। एपमा थप सुविधा विस्तारको तयारी पनि भइरहेको छ।

प्रमुख सुविधाहरू

डिजिटल नागरिक वडापत्र

प्रत्येक वडाका सेवा, कार्यक्रम तथा सम्पर्क विवरणहरू समेटिएको वडापत्र एपमार्फत डिजिटलरूपमा उपलब्ध छ।

स्वास्थ्य सम्बन्धी जानकारी

नगर क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य सेवाहरूको विवरण, स्वास्थ्य संस्थाहरूको सम्पर्क तथा स्वास्थ्यसम्बन्धी सूचनाहरू हेर्न सकिनेछ।

गुनासो तथा सुझाव पठाउने सुविधा

सडक, खानेपानी, सरसफाइ, वा बत्ती बिग्रिएको समस्याबारे सजिलै गुनासो गर्न सकिनेछ।

विकास योजना तथा सल्लाह दिने सुविधा

नागरिकहरूले आफ्ना सुझाव र योजना पठाउन सक्नेछन्, जसलाई नगरपालिकाले प्राथमिकताका साथ अध्ययन गर्नेछ।

आपतकालीन सूचना र सम्पर्क सुविधा

दमकल, एम्बुलेन्स लगायतका सेवा आवश्यक परेको अवस्थामा तुरुन्त सम्पर्क गर्न सकिने सुविधा उपलब्ध छ।

धार्मिक तथा पर्यटकीय स्थलहरूको जानकारी

गोकर्णेश्वर नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको विवरण एपमार्फत प्राप्त गर्न सकिनेछ।

सूचना तथा समाचार अद्यावधिक

नगरपालिका कार्यालयबाट प्रकाशित सूचना, कार्यक्रम तथा अन्य समाचारहरू नियमित रूपमा अद्यावधिक गरिनेछन्।

घरमै सेवा प्राप्त गर्ने सुविधा

सिफारिस, स्वास्थ्य कार्ड लगायतका सेवा अब घरमै बसेर माग गर्न सकिनेछ। यी सुविधा हाल तयारीको अन्तिम चरणमा रहेको र चाँडै सुरु हुने बताइएको छ।

स्थानीय सेवा अब प्रविधिमैत्री

उक्त एपको विकास गभर्नेन्स अटोमेशन सलुशन प्रालिले गरेको हो। कम्पनीका निर्देशक महेश पोखरेलका अनुसार, “गोकर्णेश्वर एपले स्थानीय शासनको डिजिटल रूपान्तरणमा टेवा पुर्‍याउँदै नागरिक र प्रशासनबीचको सम्बन्ध सुदृढ बनाउनेछ।”

नगरपालिकाका नगर प्रमुख दिपक रिजालले भने, “यस एपले नागरिक र प्रशासनबीचको दूरी घटाउने र पारदर्शिता बढाउने विश्वास लिएको छ। आगामी दिनमा सबै नगरपालिका सेवाहरूलाई एकीकृत गर्दै यस एपमार्फत उपलब्ध गराउने हाम्रो लक्ष्य रहेको छ।”

एप कसरी डाउनलोड गर्ने?

गोकर्णेश्वर नगरपालिका एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ। यसलाई गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमा “Gokarneshwor Municipality” खोजी गरेर सजिलै डाउनलोड गर्न सकिन्छ।

प्रकाशित: ११ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया