Technology Khabar ११ असार २०८२, बुधबार
काठमाडौं ।
कम्प्युटरहरू मान्छेको भावना बुझ्नमा कहिल्यै मानिसभन्दा अगाडि जान नसक्ने हाम्रो सोच फेरि गलत हुने देखिएको छ। वैज्ञानिकहरूले अब एआईले मानवीय भावनाहरू हामीभन्दा राम्रोसँग बुझ्ने तथ्य पत्ता लगाएका छन्।
वैज्ञानिकहरूले एआईले भावनात्मक रूपमा संवेदनशील अवस्थाहरूमा सही प्रतिक्रिया छान्ने क्षमतामा औसत व्यक्तिभन्दा धेरै राम्रो प्रदर्शन गर्ने पत्ता लगाएका छन्।
२१ मे मा कम्युनिकेशन साइकोलोजी जर्नलमा प्रकाशित नयाँ अध्ययनअनुसार जेनेभा विश्वविद्यालय र बर्न विश्वविद्यालयका वैज्ञानिकहरूले च्याटजीपीटी-४, च्याटजीपीटी-ओ१, जेमिनी १.५ फ्ल्याश, क्लाउड ३.५ हाइकू, कोपाइलट ३६५ र डीपसिक भी३ जस्ता ठूला भाषा मोडलहरूमा एसटीईएम, एसटीईयू, जीएमईओके-ब्लेण्ड्स, जीईको रेगुलेशन र जीईको म्यानेजमेन्टजस्ता भावनात्मक बौद्धिकता परीक्षणहरू लागू गरे।
उनीहरूले दुईवटा कुरा पत्ता लगाउन खोजेका थिए: पहिलो, एआई र मानवबीचको प्रदर्शन तुलना गर्ने, र दोस्रो ईआई परीक्षणको उद्देश्यअनुसार नयाँ परीक्षण प्रश्नहरू सिर्जना गर्ने क्षमताको मूल्याङ्कन गर्ने।
पहिला गरिएको मानव अध्ययनमा मान्य ठहरिएका प्रतिक्रियाहरूको आधारमा, एआईहरूले ८१ प्रतिशत पटक “सही” प्रतिक्रिया रोजे — जसलाई विशेषज्ञहरूले समर्थन गरेका थिए — जबकि मानिसहरूले ५६ प्रतिशतमा मात्रै सही प्रतिक्रिया दिए।
लाइभसाइन्सका अनुसार जब च्याटजीपीटीलाई नयाँ परीक्षण प्रश्नहरू बनाउन भनियो, मानव मूल्यांकनकर्ताहरूले तिनलाई मौलिक परीक्षणसँग बराबरी हुने गम्भीरता भएको बताए, र ती प्रश्नहरू पुराना प्रश्नको केवल पुनर्लेखनजस्तो लाग्दैनथे।
एआईद्वारा बनाइएका र मौलिक परीक्षणबीचको सहसम्बन्ध “बलियो” रहेको जनाइयो, जसको सहसम्बन्ध गुणांक ०.४६ थियो (जहाँ १.० पूर्ण सहसम्बन्ध हो भने ० कुनै सम्बन्ध नभएको जनाउँछ)।
अन्तिम एआई “भावना बुझ्ने” मामिलामा हामीभन्दा अगाडि छ भन्ने निष्कर्ष यस्तो आयो।
विभिन्न विशेषज्ञहरूसँग कुरा गर्दा उनीहरूले प्रयोग गरिएको विधिमाथि ध्यान दिन जरुरी भएको बताए। सबै ईआई परीक्षण बहुविकल्पीय थिए — जुन व्यवहारिक जीवनका तनावयुक्त अवस्थासँग मेल नखाने बताए।
“धेरैपटक मानिसहरू आफैं अरूको भावना के हो भनेर सहमत हुँदैनन्, र मानसिक स्वास्थ्यका विज्ञहरूकै व्याख्या पनि फरक पर्न सक्छ,” सूचना सुरक्षाविद् ताइमुर इजलालले भने। “त्यसैले एआईले यस्ता परीक्षणमा मानिसलाई जित्यो भन्नाले यो बुझाइ गहिरो छ भन्ने हुँदैन — यो त केवल सांख्यिकीय रूपमा अपेक्षित जवाफ दिने क्षमतामा राम्रो देखिएको हो।”
अध्ययनले परीक्षण गरेको कुरा वास्तविक भावनात्मक समझदारी होइन भन्नेमा उनीहरू सहमत थिए। “ एआई प्रणालीहरू अनुहारको भाव वा भाषिक संकेतजस्ता भावनासम्बन्धी संरचित सङ्केतहरूको ढाँचा चिन्नमा दक्ष छन्,” क्लिनिकल एआई उपकरण क्लिनिस्क्रिप्टका संस्थापक नाउमन जाफरले भने। “तर त्यसलाई मानव भावनाको गहिरो ‘बुझाइ’ मान्नु एआई का क्षमतालाई अतिरञ्जना गर्नु हो।”
एआई संरचित, मात्रात्मक वातावरणमा राम्रो देखिन्छ, तर मानिसहरू जसरी तनावपूर्ण क्षणहरूमा प्रत्यक्ष रुपमा प्रतिक्रिया जनाउँछन्, त्यस्तो परिवेशमा एआईले काम गर्न सक्दैन।
हेनेस्सी डिजिटल का संस्थापक जेसन हेनेस्सीले यस अध्ययनलाई रिडिङ द माइन्ड इन द आइज परीक्षणसँग तुलना गरे। उक्त परीक्षणले व्यक्तिको भावना बुझ्न प्रयोग गरिन्छ, र एआईले यसमा केही सफलता देखाएको छ। तर जब फोटोको प्रकाश वा सांस्कृतिक सन्दर्भजस्ता आधारभूत तत्वहरू परिवर्तन गरिन्छ, “एआईको सटीकता तुरुन्तै घट्छ,” उनले भने।
धेरै विज्ञहरूका अनुसार “एआईले भावना हामीभन्दा राम्रो बुझ्छ” भन्ने दावी अलिकति बढाइचढाइ भएको हो।
ब्राजिलका ६,००० भन्दा बढी लामो दुरीका ट्रक चालकहरूले प्रयोग गर्ने संवादात्मक एआई एल्टन एउटा बहुआयामिक व्हाट्सएप सहायक हो। यसले आवाज, पाठ र चित्र प्रयोग गर्छ। यसको विकासकर्ता हल-एआईका सीईओ तथा प्रमुख वैज्ञानिक मार्कोस आल्भेसका अनुसार एल्टनले तनाव, रिस वा दुःख चिन्ने काम करिब ८० प्रतिशत सटीकतामा गर्छ — जुन मानिसको औसतभन्दा झन्डै २० प्रतिशत बढी हो।
एउटा घटनामा एउटा ट्रक चालकले सहकर्मीको मृत्युपछि रुनलाग्दो स्वरमा १५ सेकेन्डको आवाज सन्देश पठाएको थियो। एल्टनले तुरुन्तै संवेदनशील जवाफ दियो, मानसिक स्वास्थ्य सहयोगको प्रस्ताव गर्यो र फ्लीट म्यानेजरहरूलाई स्वचालित रूपमा जानकारी गरायो।
“हो, बहुविकल्पीय पाठ परीक्षणले भावना बुझ्न सजिलो बनाउँछ,” आल्भेसले भने। “साँचो सहानुभूति भनेको निरन्तर र बहुआयामिक हुन्छ। तर संज्ञानात्मक तहलाई छुट्याएर परीक्षण गर्नु उपयोगी छ। यसले देखाउँछ कि एलएलएमले अवस्थागत अन्योल आउनुअघि नै भावनात्मक सङ्केत छुट्याउन सक्छ कि सक्दैन।”
उनका अनुसार ठूला भाषा मोडल एलएलएमले अर्बौं वाक्य र हजारौं घण्टा संवादको आवाज सोस्न सक्ने हुँदा, मानिसले छुटाउने स-साना ध्वनि संकेतहरू पनि समात्न सक्छ।
“प्रयोगशालाको परीक्षण सीमित छ,” उनले भने, “तर आधुनिक एलएलएमहरूले ठूलो स्तरमा सहानुभूति प्रदान गर्दै आज नै धेरै मानिसभन्दा राम्रोसँग पहिचान र प्रतिक्रिया गर्न सक्छन् भन्ने हाम्रो व्हाट्सएप डाटाले देखाउँछ।”
प्रकाशित: ११ असार २०८२, बुधबार