Technology Khabar ११ असार २०८२, बुधबार
काठमाडौं ।
चन्द्रमाको धुलो मानवका लागि पहिले सोचिएजति हानिकारक नहुन सक्ने एउटा नयाँ प्रयोगले देखाएको छ। उक्त अध्ययनअनुसार व्यस्त सडकको सामान्य वायु प्रदूषण चन्द्र धुलो सास फेर्दा हुने असरभन्दा बढी विषालु हुने देखिएको छ।
“मानवलाई चन्द्रमामा पुनः पठाउने सुरक्षासम्बन्धी आधारमा यो परिणामले टेवा पुर्याउँछ,” टेक्नोलोजी युनिभर्सिटी सिड्नीका जीव विज्ञानका प्राध्यापक ब्रायन ओलिभरले एक विज्ञप्तिमा भनेका छन्।
चन्द्रधुलोको विषाक्तता सम्बन्धी चिन्ता अपोलो मिसनको क्रममा उठेको थियो। चन्द्रमाको धुलोमा स्थैतिक चार्ज हुन्छ जसले गर्दा यो अन्तरिक्ष यात्रीको स्पेससुटमा टाँसिन्छ। चन्द्र सतहमा हिँडेर फर्किएपछि जब उनीहरू ल्यान्डरको भित्र पस्थे, धुलो क्याबिनमा हावामा मिसिएर सासमार्फत भित्रिन्थ्यो।
यसले उनीहरूलाई २४ घण्टासम्म टिक्ने स्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गराएको थियो। अपोलो १७ का अन्तरिक्ष यात्री ह्यारिसन श्मिटले यसलाई “चन्द्र एलर्जी” को रूपमा वर्णन गरेका थिए, जसमा आँखा पोल्ने, हाच्छिउँ लाग्ने र घाँटी दुख्ने लक्षण थिए।
त्यस्तै, पृथ्वी फर्किएपछि प्रयोग गरिएका स्पेससुट खोल्दा अपोलो मिसनका चिकित्सकले पनि उस्तै समस्या अनुभव गरेका थिए। हरेक मिसनपछि ती लक्षण झन् बढ्दै गएका थिए, जसले बारम्बार चन्द्रधुलोमा सम्पर्क हुँदा त्यसको विषाक्तता बढ्ने संकेत दिएको स्पेस डटकमले उल्लेख गरेको छ।
तर ती अनुभवहरू संख्यात्मक आधारमा विश्लेषण नभएको हुँदा त्यसको प्रभाव कति हुन्छ भन्ने अझै स्पष्ट थिएन। त्यसैले टेक्नोलोजी युनिभर्सिटी सिड्नीको रेस्पिरेटरी रिसर्च ग्रुपकी पीएचडी विद्यार्थी मिकेला स्मिथले यसको अनुसन्धान सुरु गरिन्।
स्मिथले दुईवटा चन्द्र धुलोको नक्कली नमुनामा प्रयोग गरिन् — तीमध्ये एक चन्द्रमाको अँध्यारो ज्वालामुखीय समथर भूभाग र अर्को पुराना उच्च भूभागसँग मिल्दोजुल्दो थियो। ती कणहरू २.५ माइक्रोनभन्दा साना थिए, जसलाई सास फेर्दा फोक्सोको भित्री भागसम्म पुगेर अड्कन सक्ने बनाउँछ। स्मिथले ती कणहरू दुई प्रकारका फोक्सोको कोशिकामा प्रयोग गरिन् — ब्रन्कियल र अल्भियोलर — जसले फोक्सोको माथिल्लो र तल्लो भाग प्रतिनिधित्व गर्छन्।
प्रकाशित: ११ असार २०८२, बुधबार