टेस्लाको रोबोट्याक्सी सञ्चालन भएसँगै अमेरिकी संघीय सुरक्षा नियामकद्वारा सोधपूछ

  • Technology Khabar | ११ असार २०८२, बुधबार
टेस्लाको रोबोट्याक्सी सञ्चालन भएसँगै अमेरिकी संघीय सुरक्षा नियामकद्वारा सोधपूछ

काठमाडौं ।

संघीय सुरक्षा नियामक निकायले टेस्लाले टेक्सासको अस्टिनमा आफ्नो ब्रान्डेड रोबोट्याक्सी सञ्चालन सुरु गरेको भोलिपल्टै कम्पनीसँग सम्पर्क गरेको छ।

अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले टेस्लासँग सम्पर्क गरेको पुष्टि गरेको छ। इन्टरनेटमा पोस्ट गरिएका थुप्रै भिडियोहरूमा अस्टिनको दक्षिणी भागमा टेस्लाको रोबोट्याक्सीहरूले ट्राफिक नियम उल्लंघन गरिरहेको देखिएको थियो। ब्लूमबर्गले यो खबर सबैभन्दा पहिले सार्वजनिक गरेको हो।

इमेल वक्तव्यमा एनएचटीएसएले भनेको छ, “हामी ती घटनाहरूको जानकारीमा छौं र थप विवरण सङ्कलन गर्न निर्माता (टेस्ला) सँग सम्पर्कमा रहेका छौं।”

एनएचटीएसएले थपे, “हामी सवारीसाधन र उपकरणका सबै निर्माताहरूलाई कानूनअनुसार कारवाही गर्दै आएका छौं। अमेरिकी कानुनअनुसार, एनएचटीएसए ले नयाँ प्रविधि वा सवारी प्रणालीलाई पूर्व-अनुमोदन दिँदैन। बरु, निर्माताले आफ्नो सवारी एनएचटीएसए को कडाभन्दा कडा सुरक्षा मापदण्डहरू पुरा गर्छ भन्ने प्रमाणित गर्नुपर्ने हुन्छ। रिपोर्टहरू र अन्य सम्बन्धित सूचनाहरूको मूल्याङ्कनपछि, एनएचटीएसए ले सडक सुरक्षाका लागि आवश्यक कदम चाल्नेछ।”

आइतबार टेस्लाले दक्षिण अस्टिनमा आमन्त्रण गरिएका ग्राहकहरूलाई पैसा तिरेर रोबोट्याक्सी चढ्न दिने सेवा सुरु गरेको थियो। सीमित रूपमा सुरु गरिएको यो सेवा कम्पनीको स्वचालित सवारी प्रविधिको पहिलो वास्तविक परीक्षण हो।

टेकक्रञ्चका अनुसार टेस्लाले हाल आफ्नो ‘ फुल सेल्फ ड्राइभिङ सुपरभाइज्ड ‘ नामक सफ्टवेयर आफ्ना सवारीधनीहरूलाई बिक्री गरिरहेको छ, जसले स्टियरिङ र ब्रेकको काम सम्हाल्छ। तर, यो प्रविधि अझै चालकको हात स्टेरिङमा राखिनै पर्ने उन्नत सहायक प्रणाली मानिन्छ।

रोबोट्याक्सीहरूमा भने ‘एफएसडी’ को अनुगमन नगरिएको संस्करण प्रयोग गरिएको छ, यद्यपि कम्पनीले यसबारे विस्तृत जानकारी दिएको छैन। ग्राहकहरूले एपमार्फत रोबोट्याक्सी बोलाउन सक्छन्, र ती सवारीहरू आफैंले चलाउने खालका बनाइएका हुन्। तर, सुरक्षाका लागि अगाडिको सिटमा मानव “सुरक्षा निगरानीकर्ता” राखिएको हुन्छ।

इन्टरनेटमा पोस्ट गरिएका केही भिडियोहरूमा रोबोट्याक्सीहरूले गतिसीमा नाघेको र एक घटनामा उल्टो लेनमा पसेको देखिएको छ।

प्रकाशित: ११ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार