Technology Khabar ११ असार २०८२, बुधबार
काठमाडौं ।
गुगलले मंगलबार भारतमा प्रयोगकर्ताहरूका लागि आफ्नो प्रश्न-उत्तर शैलीको नयाँ खोज उपकरण एआई मोड सुरु गरेको छ। कम्पनीले यो सुविधा अझै प्रयोगात्मक चरणमा रहेको बताएको छ र प्रयोगकर्ताहरूले सर्च ल्याब्समार्फत यसमा स्वेच्छाले भाग लिनुपर्नेछ।
एक पटक प्रयोगकर्ताले यसमा भाग लिएपछि उनीहरूले अंग्रेजीमा प्रश्नहरू सोध्न सक्छन्। गुगल ले स्थानीय भाषाहरू कहिले समर्थन गर्ने भन्नेबारे केही खुलाएको छैन।
प्रयोगकर्ताहरूले “मेरो छोराछोरी ४ र ७ वर्षका छन् र उनीहरूमा धेरै ऊर्जा छ। तातो दिनमा घरभित्रै सीमित ठाउँ र महँगो खेलौनाबिना सक्रिय राख्ने रचनात्मक उपाय सुझाउनुहोस्” जस्ता जटिल, बहुपक्षीय प्रश्नहरू खोजी गर्न सक्छन्। साथै, उनीहरूले नतिजा अझ परिष्कृत गर्न थप प्रश्नहरू पनि सोध्न सक्छन्।
टेकक्रञ्चका अनुसार यस वर्षको सुरुमा गुगलले अमेरिका भित्र प्रिमियम सदस्यहरूका लागि एआई मोड परीक्षण गर्न थालेको थियो। पछि गुगल आईओ कार्यक्रमपछि कम्पनीले सबै अमेरिकी प्रयोगकर्ताहरूका लागि यो सुविधा विस्तार गरेको थियो। समयक्रममा गुगलले यसमा किनमेल सुविधा, आवाज र तस्बिर खोजी समर्थन, साथै विज्ञापनसमेत थपेको छ।
भारतमा आवाज प्रयोग गर्ने खोजी तरिका लोकप्रिय भएकाले कम्पनीले आवाज र तस्बिर खोजी समर्थन भारतका प्रयोगकर्ताहरूका लागि उपलब्ध गराएको जनाएको छ। यो एआई मोड जेमिनी २.५ को विशेष संस्करणद्वारा सञ्चालित भएको बताइएको छ। कम्पनीका अनुसार प्रारम्भिक प्रयोगकर्ताहरूले २–३ गुणा लामो प्रश्नहरू सोधिरहेका छन्।
८७० मिलियनभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरू भएको भारत गुगलका लागि विश्वका सबैभन्दा ठूला बजारहरूमध्ये एक हो। यो बजार गुगल का लागि बहुभाषिक प्रयोगकर्ताहरूले यसको उत्पादन कसरी प्रयोग गर्छन् भन्ने बुझ्न प्रयोगशाला जस्तै पनि बनेको छ।
मानिसहरूले च्याटजीपीटी र पर्प्लेक्सिटी जस्ता कुराकानी शैलीका एआई उपकरणहरू दैनिक जीवनमा प्रयोग गर्न थाले पनि सर्चको बजारमा गुगलको वर्चस्व अझै कायम छ। गुगलले एआई मोड मार्फत यस्तै शैली रुचाउने प्रयोगकर्ताहरूलाई आफ्नो उत्पादनतर्फ आकर्षित गर्न खोजेको हो।
एआई मोड बाहेक, गुगल ले खोजीमा ‘एआई ओभरभ्युज’ जस्ता सुविधा पनि अघि सारेको छ, जसले प्रश्नको उत्तर सारांशस्वरूप प्रस्तुत गर्छ। कम्पनीका अनुसार गत अप्रिलसम्म १.५ अर्बभन्दा बढी मानिसहरूले संसारभर ‘एआई ओभरभ्युज’ प्रयोग गरिरहेका छन्।
तर पनि यसै महिनाको सुरुमा वाल स्ट्रीट जर्नलले गुगलका एआई सुविधाले प्रकाशकहरूलाई नोक्सान पुर्याएको र उनीहरूको वेबसाइट ट्राफिकमा गिरावट आएको रिपोर्ट गरेको थियो।
प्रकाशित: ११ असार २०८२, बुधबार