
काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगार ठगीको विषयलाई सम्बोधन गर्न नीतिगत व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत यस मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले राष्ट्रिय श्रम बजार सूचना प्रणालीको निर्माणका लागि प्राविधिक अध्ययन भइरहेको जानकारी दिएका छन्।
“दुतावासमा फोन उठेन भने निश्चित समय पश्चात त्यो कल नेपालस्थित कल सेन्टरमा ‘आइपी बेस्ड फोन’मार्फत फरर्वाड हुने व्यवस्था मिलाउन लागिएको छ”, मन्त्री भण्डारीले भने, “अहिले नेपाली को कहाँ छ भन्ने सामान्य जानकारीसमेत नभएको अवस्थामा विदेशमा रहेका नेपालीलाई मातृभूमिसँग प्रत्यक्ष सम्पर्क स्थापना गर्ने यो एक प्रभावकारी प्रणाली हुनेमा हामी विश्वस्त छौँ।”
वैदेशिक रोजगार ठगीका मुद्दालाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयलाई थप जिम्मेवारी दिइने बताए।
प्रकाशित: १० असार २०८२, मंगलवार