सर्चसम्बन्धी सेवा सञ्चालनमा गुगलमाथि थप नियन्त्रण गर्दै बेलायती नियामक

Technology Khabar १० असार २०८२, मंगलवार

काठमाडौं ।

बेलायतको प्रतिस्पर्धा नियामक निकायले मंगलबार अमेरिकी प्रविधि कम्पनी गुगल लाई “रणनीतिक बजार स्थिति” दिने प्रस्ताव गरेको छ। यसले बेलायती खोज सेवा सञ्चालनमा गुगल माथि थप नियन्त्रण गर्ने अवसर दिनेछ।

प्रतिस्पर्धा तथा बजार प्राधिकरण (सीएमए) ले बताएको अनुसार यो प्रस्ताव नयाँ ठूला प्रविधि कम्पनीहरूमाथिको कानुनी प्रणालीअन्तर्गत आएको पहिलो कदम हो। यो लागू भएमा सीएमए ले गुगल लाई खोज परिणामहरूमा देखिने व्यवसायहरूको र्याङ्किङ्ग अझ निष्पक्ष बनाउन बाध्य पार्न सक्ने रोयटर्सले उल्लेख गरेको छ।

यस प्रस्तावमा प्रयोगकर्ताहरूलाई प्रतिस्पर्धी खोज सेवाहरूमा सजिलै पहुँच दिनु र खोज नतिजामा देखिने सामग्री प्रयोग गर्ने प्रकाशकहरूलाई थप पारदर्शिता र नियन्त्रण दिनुपर्ने पनि समावेश छ। यो निर्णय अक्टोबरमा लागू गर्ने तयारी सीएमएको छ।

सीएमएले गुगललाई आफ्नो डाटा सजिलै सार्न मिल्ने बनाइ नयाँ व्यवसायहरूले नवप्रवर्तनसहितको उत्पादन बजारमा ल्याउन सहयोग पुग्ने जनाएको छ।

यस वर्ष सीएमएले प्राप्त गरेको नयाँ अधिकारपछिको यो पहिलो प्रस्तावित निर्णय हो। सीएमएकी प्रमुख कार्यकारी सारा कार्डेलले गुगल ले बेलायतमा ९० प्रतिशतभन्दा बढी खोजको सेवा दिँदै आएको भए पनि यस क्षेत्रमा प्रतिस्पर्धा र नवप्रवर्तनको अवसर अझ खुला गर्न सकिने देखिएको बताइन्।

उनले भनिन्, “यी लक्षित र सन्तुलित कदमहरूले बेलायती व्यवसाय र उपभोक्ताहरूलाई गुगल को खोज सेवासँगको सम्बन्धमा बढी विकल्प र नियन्त्रण दिनेछ। साथै, बेलायती प्रविधि क्षेत्र र समग्र अर्थतन्त्रमा नवप्रवर्तनको अवसर पनि बढाउनेछ।”

गुगलले भने यो प्रस्तावले बेलायतका व्यवसाय र उपभोक्ताहरूमा ठूलो असर पार्न सक्ने बताएको छ। गुगल का प्रतिस्पर्धा निर्देशक ओलिभर बिथेलले भने, “सीएमएले हालसम्म कुनै प्रमाण नपेस नगरी विभिन्न हस्तक्षेपबारे विचार गरिरहेको देखिएकोले हामी चिन्तित छौं।”

सीएमए ले २०२६ बाट सुरु हुने गरी थप जटिल मुद्दाहरूको समाधान गर्ने योजनासमेत बनाएको छ, जसमा गुगल ले प्रतिस्पर्धी विशेषज्ञ खोज कम्पनीहरूसँग गर्ने व्यवहार र खोज विज्ञापनमा पारदर्शिता र नियन्त्रणसम्बन्धी चिन्ताहरू समेटिनेछन्।

प्रकाशित: १० असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया