चलचित्रको दृश्यमा आफ्नो मोबाइल नम्बर राखेर दूरुपयोग गरिएको भन्दै मुद्दा दायर

Technology Khabar ९ असार २०८२, सोमबार

काठमाडौं ।

आफ्नो मोबाइल नम्बर दूरुपयोग गरिएको भन्दै कलाकार अनमोल केसी र चलचित्र ‘फर्की फर्की’ को टिममाथि कलाकार तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन्।

मुद्दामा उनीहरूले चलचित्रमार्फत आफ्नो मोबाइल नम्बर दुरुपयोग गरेको र सो नम्बर हटाउन अनुरोध गर्दा पनि एमएसएम ओटीटी प्लेटफर्मबाट हटाइएको उल्लेख गरिएको छ।

नरेन्द्रबहादुरकाअनुसार उक्त चलचित्रको केहि दृश्यमा आफ्नो मोबाइल नम्बर राखिएको मानसिक र शारीरिक असर पुगेको भन्दै कानुनी कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन्।

मुद्दामा उल्लेख छ, ‘चलचित्र रिलिज भएयता मेरो फोन नम्बर अनमोल केसीसँग सम्पर्क गर्नेहरूबाट बारम्बार फोन आउन थालेको छ। यसका कारण मैले आफ्नो मोबाइल स्वीच अफ गर्नुपरेको छ।’

फोन आउन थालेपछि त्यस बारेमा अभिनेता केसी र चलचित्र टिमलाई आफ्नो नम्बर त्यसबाट हटाउन जानकारी गराएपनि नभएको र, पछि सयौँ नम्बरबाट फोन आउन थालेको बताईएको छ।

मुद्दामा अनमोल केसी, निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति (सेन्सर बोर्ड), तथा रोहित अधिकारीलाई पनि कानुनी कारबाही गर्न माग गरिएको छ।

पीडितले नियामक निकायहरूलाई पटकपटक पत्र लेखे पनि सुनुवाइ नभएको भन्दै मुद्दा दायर गरेको रिट निवेदनमा उल्लेख छ।

अघिल्लो समयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई फोन गरेर समस्या जानकारी गराए पनि समाधान नभएको र निर्देशक सुयोग गुरुङले आश्वासन मात्र दिएको तर समस्या टुंगो नलागेको पनि आरोप रहेको छ।

नरेन्द्रबहादुर श्रेष्ठले उल्लेख गरेअनुसार, चलचित्र ‘फर्की फर्की’को एउटा दृश्य संवादमा हिरोइन जसिता गुरुङले अनमोल केसीको नम्बर माग्छिन् र उनले आफ्नो नम्बर दिन्छन्। उक्त नम्बरनै श्रेष्ठको भएको दाबी छ। सोही कारण सो नम्बरमा श्रेष्ठलाई लगातार फोन गरिने गरेको जनाइएको छ।

प्रकाशित: ९ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया