Technology Khabar ६ असार २०८२, शुक्रबार
काठमाडौं ।
बेलायतमा मुख्यालय रहेको आईटी परामर्श तथा साइबर सुरक्षा कम्पनी जेनेस सोलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालजस्ता विकासशील देशहरूमा युवालाई सशक्त बनाउन डिजिटल विभेद (digital divide) अन्त्य गर्नु अत्यावश्यक भएको बताएका छन्।
अमेजन वेब सर्भिसेज (एडब्लुएस) एम्बेसडर ग्लोबल समिट २०२५ मा “Empowering Remote Hills in Nepal: Sustainable Livelihoods through AWS Skills” शीर्षकमा प्रस्तुति दिँदै, बेलायत र आयरल्यान्डका लागि सन् २०२४ का शीर्ष एडब्लुएस एम्बेसडर फुयाँलले भने, “डिजिटलरूपले सम्प्रभु नेपाल” को परिकल्पना गर्दै ग्रामीण युवालाई सिक्न, कमाउन र नेतृत्व गर्न सक्ने वातावरण बनाउँदा स्थानीय रोजगारी सिर्जना हुनेछ, साथै वैदेशिक रोजगारीका लागि भैरहेको युवा पलायन पनि घट्नेछ।”
फुयाँलले भोजपुर, सुर्खेत लगायतका दुर्गम जिल्लामा जेनेस सोलुशनले सञ्चालन गरिरहेको तालिम कार्यक्रमहरूको चर्चा गरे, जसको उद्देश्य स्थानीय स्तरमै युवालाई प्रशिक्षण, स्रोत र प्रेरणा प्रदान गरी उनीहरूलाई आफ्नै स्थानमा रोजगारी गर्न सक्षम बनाउनु रहेको जारी विज्ञप्तीमा उल्लेख छ।
“हामीले हालसम्म ५ ओटा सामुदायिक टेक ल्याब स्थापना गरिसकेका छौं र क्लाउड कम्प्युटिङ तथा साइबर सुरक्षामा ३०० भन्दा बढी युवालाई तालिम दिइसकेका छौं। अहिले हामी ५ प्रदेशका १२ जिल्लामा सक्रिय छौं र झण्डै १ दर्जन सार्वजनिक–निजी साझेदारहरू हाम्रो अभियानमा सहभागी भइसकेका छन्,” उनले भने।
तालिम सुरु गर्नु अघि ती जिल्लामा कुनै डिजिटल पूर्वाधार थिएन, न त विद्यार्थीहरूले क्लाउड प्रविधि वा कोडिङमा कुनै अनुभव नै प्राप्त गरेका थिएनन्।
“छात्रछात्राहरूले पहिले एडब्लुएस प्रयोग गरेका थिएनन्, टेक ल्याबमा पनि कहिल्यै काम गरेका थिएनन्। हामीले २५ जना विद्यार्थीलाई लिएर १० दिने इन्टेन्सिभ क्लाउड बुटक्याम्प सञ्चालन गर्यौं,” फुयाँलले भने।
उनकाअनुसार सबै २५ जना सहभागीले तालिम सफलतापूर्वक पूरा गरेका छन् र धेरैजना अहिले जेनेसमा इन्टर्नको रूपमा कार्यरत छन्। उनले विश्व प्रविधि समुदायलाई नेपालमा युवा सशक्तीकरणका लागि जगदेखि सहकार्य गर्न आह्वान पनि गरेको बताईएको छ।
प्रकाशित: ६ असार २०८२, शुक्रबार