साइबर अपराधको अभियोग लागेका पत्रकार पाठकलाई पक्राऊ नगर्न उच्च अदालतको आदेश

Technology Khabar ५ असार २०८२, बिहीबार

साइबर अपराधको अभियोग लागेका पत्रकार पाठकलाई पक्राऊ नगर्न उच्च अदालतको आदेश
तस्बिरः दिल भुषण पाठकको फेसबुकबाट।

काठमाडौं ।

यूट्युब च्यानलमा प्रसारित हिल्टन होटलसम्बन्धी समाचार सामग्रीका कारण साइबर ब्यूरोमा उजुरी परेर गत असार २७ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका पत्रकार दिलभूषण पाठकलाई पक्राऊ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ।

उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले आज यस्तो आदेश दिएको हो।

“निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवदेकलाई पक्राउ नगर्नू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम यस अदालतबाट जारी भएको अल्पकालीन आदेशलाई निरन्तरता दिएको छ ।”

उच्च अदालतले त्यसमा सुनुवाई गर्दै दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाउँदै अल्पकालीन अन्तरिम आदेश दिएको थियो। त्यसअघि उनलाई पक्राउ नगर्न अदालतले आदेश गरेको थियो।

‘साइबर ब्यूरो ५९’को जाहेरीको आधारमा पक्राऊ पुर्जी जारी भएकोमा पत्रकार पाठकले सो आदेशका विरुद्धमा उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका थिए।

प्रकाशित: ५ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया