Technology Khabar ५ असार २०८२, बिहीबार
काठमाडौं ।
एआई फोटो सिर्जना गर्ने चर्चित स्टार्टअप मिडजर्नीले बुधबार आफ्नो धेरै प्रतिक्षित एआई भिडियो जेनेरेसन मोडल भी१ सार्वजनिक गरेको छ।
भी१ एउटा इमेज-टु-भिडियो मोडल हो जसमा प्रयोगकर्ताले कुनै तस्वीर अपलोड गर्न सक्नेछन् — चाहे त्यो तस्वीर मिडजर्नी का अरू मोडेलबाट बनाइएको होस् वा बाहिरबाट लिइएको — र भी१ ले त्यसको आधारमा चारवटा पाँच–पाँच सेकेन्ड लामो भिडियोहरू तयार पार्नेछ।
मिडजर्नीका अन्य इमेज मोडेलहरू जस्तै, भी१ पनि डिस्कर्डमा मात्र उपलब्ध हुनेछ र सुरुवातमा यो वेबमार्फत मात्र चल्नेछ।
टेकक्रञ्चका अनुसार भी१ सार्वजनिक भएको घोषणापछि मिडजर्नी अब एआई भिडियो जेनेरेसन मोडल विकास गर्ने अन्य कम्पनीहरू जस्तै ओपनएआईको सोरा, रनवेको जेन ४, एडोबीको फायरफ्लाई र गुगलको भीओ३सँग प्रत्यक्ष प्रतिस्पर्धामा प्रवेश गरेको छ।
अधिकांश कम्पनीहरू व्यापारिक प्रयोजनका लागि नियन्त्रित एआई भिडियो मोडलहरू विकास गरिरहेका बेला मिडजर्नी भने सधैँ रचनात्मक प्रयोगकर्ताहरूलाई लक्षित गरेर छुट्टै पहिचान बनाएको कम्पनी हो।
एआई भिडियो मोडलहरू मार्फत कम्पनीको लक्ष्य केवल हलिउड फिल्म वा विज्ञापनका लागि बी-रोल उत्पादन गर्नु नभई यो “रियल टाइम ओपन-वर्ल्ड सिमुलेसन” निर्माण गर्न सक्षम एआई मोडलहरू विकास गर्ने यात्रा को अर्को चरण भएको मिडजर्नीका सीईओ डेभिड होल्जले ब्लगमार्फत बताएका छन् ।
भविष्यमा, मिडजर्नी ले थ्रीडी रेन्डरिङ र रियल-टाइम एआई मोडलहरू समेत निर्माण गर्ने योजना बनाएको जनाएको छ।
प्रकाशित: ५ असार २०८२, बिहीबार