Technology Khabar ५ असार २०८२, बिहीबार
काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्था मध्ये नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गरिएको छ।
नेपालको इतिहासमै दुई ठूला डिजिटल वालेट एक भएर एकीकृत कारोवार हुन लागेको यो नै पहिलो पटक हो ।
आइएमई पे र खल्तीको एकीकृत कारोवारपश्चात आधिकारिक रुपमा कम्पनीको नाम भने आइएमई खल्ती लिमिटेड रहने भएको छ। यसको रजिस्टर्ड कार्यालय काठमाडौं, पानीपोखरीमा रहने छ। संयुक्त कारोबार पश्चात अधिकारिक रुपमा एपको नाम खल्ती रहने छ। ठूलो चुक्ता पूँजी र पचास लाखभन्दा बढी अधिकारिक प्रयोगकर्ताहरूले खल्ती एपलाई नेपालकै सबैभन्दा ठूलो र बलियो डिजिटल वालेटको रुपमा स्थापित हुने अनुमान छ।
नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तिन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तिब्र रुपमा चल्ने कम्पनीले जनाएको छ। जसका लागि दुवै एप ,आइएमई पे र खल्ती यथावत रुपमा संचालनमा रहने छन् । दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू, खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि उल्लेखित समयमा एकीकृत हुनेछन्।
खल्ती र आइएमई पे दुबैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पे मा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समाबेश गरिनेछ । नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नया फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन् ।
संयुक्त कारोवार पश्चात एपको नाम खल्ती भएपनि आइएमई पेमा भएका सवै फिचरहरु त्यहाँ समावेश हुने बताईएको छ। अहिलेसम्म आइएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आवद्ध हुन सक्नेछन् । आइएमई पे मा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछन् । यस कार्यबाट खल्ती एप सहज र सुविधाजनक डिजिटल प्लेटफर्मको रुपमा स्थापित हुने विश्वास कम्पनीले लिएको छ।
खल्ती वालेटले आगामी दिनहरुमा प्रयोगकर्ताहरुलाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्ने बताएको छ।
प्रकाशित: ५ असार २०८२, बिहीबार