Technology Khabar ५ असार २०८२, बिहीबार
काठमाडौं ।
मेटाका सीईओ मार्क जुकरबर्ग हालै केही हदसम्मको दक्ष कर्मचारी तान्ने होडमा छन्। उनी मेटाको नयाँ सुपरइण्टेलिजेन्स टिमका लागि प्रतिस्पर्धी प्रयोगशालाहरूबाट उच्च स्तरका एआई अनुसन्धानकर्ता भित्र्याउने प्रयासमा छन्।
पूर्व स्केल एआईका सीईओ अलेक्जेन्डर वाङको नेतृत्वमा र जुकरबर्गकै डेस्क नजिकै काम गर्ने अवसर दिने भन्दै मेटाले ओपनएआई र गुगल डीपमाइण्डका कर्मचारीहरूलाई सयौं मिलियन डलरसम्मको क्षतिपूर्तिसहित अफर दिएको बताइएको छ।
ओपनएआईका सीईओ साम अल्टम्यानले आफ्ना भाइ ज्याक अल्टम्यानसँगको मंगलबार सार्वजनिक गरिएको पडकास्टमा यी रिपोर्टहरू पुष्टि गरेका छन्। तर उनले मेटाका भर्ती प्रयासहरू खासै सफल नभएको बताएका छन् र मेटा माथि केही आलोचना पनि गरेका छन्।
“मेटाले हाम्रो टिमका धेरै सदस्यहरूलाई यस्ता ठूलो प्रस्तावहरू दिन थालेको छ,” अल्टम्यानले पडकास्टमा भने। “जस्तै, १०० मिलियन डलरको साइनिङ बोनस, त्यसभन्दा बढी वार्षिक क्षतिपूर्ति […] तर म खुसी छु कि, अहिलेसम्म हाम्रा उत्कृष्ट कर्मचारीहरूले त्यस प्रस्तावलाई स्वीकार गरेका छैनन्।”
अल्टम्यानले उनका कर्मचारीहरूले ओपनएआईले एजीआई (आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स) हासिल गर्ने सम्भावना बढी रहेको मूल्यांकन गरेका र भविष्यमा ओपनएआई नै बढी मूल्यवान कम्पनी बन्ने विश्वास गरेका बताए। उनले मेटाले आफ्नो कार्यसंस्कृतिभन्दा बढी क्षतिपूर्तिमा ध्यान दिनुले त्यहाँ राम्रो संस्कृति नबन्ने सम्भावना रहेको पनि बताए।
मेटाले ओपनएआईका प्रमुख अनुसन्धानकर्ता नोआम ब्राउन र गुगलका एआई आर्किटेक्ट कोराय कवुकचोग्लुलाई लिने प्रयास गरेको बताइएको छ। तर यी दुवै प्रयास असफल भएका टेकक्रञ्चले उल्लेख गरेको छ।
मेटाका हालका एआई प्रयासहरू उनीहरूले आशा गरेजस्तो सफल नभइरहेको बेला ओपनएआईको नवप्रवर्तनशील संस्कृतिले कम्पनीलाई सफल बनाउन ठूलो भूमिका खेलेको अल्टम्यानले बताए।
उनले मेटाका केही पक्षहरूको प्रशंसा गरे तापनि मेटा नवप्रवर्तनमा उत्कृष्ट कम्पनी होइन भन्ने धारणा पनि राखे। पडकास्टको पछि उनले भने, “सिर्फ पछ्याएर पुग्दैन, नवप्रवर्तन गर्न सक्नुपर्छ।”
मेटाले सुपरइण्टेलिजेन्स प्रयोगशाला तयार गर्न धेरै चुनौतीहरू पार गर्नुपर्ने देखिन्छ। कम्पनीले अलेक्जेन्डर वाङको पूर्व कम्पनी स्केल एआईमा ठूलो लगानी गरेको घोषणा गत साता मात्र गरेको हो। मेटाले गुगल डीपमाइण्डका ज्याक रे र सेसेमी एआईका जोहान शाल्कवाइक जस्ता केही चर्चित एआई अनुसन्धानकर्ताहरू पनि भित्र्याएको बताइएको छ। तर अझै धेरै काम बाँकी छ।
प्रकाशित: ५ असार २०८२, बिहीबार