Technology Khabar ५ असार २०८२, बिहीबार
काठमाडौं ।
टेस्लाका सवारीसाधनहरूले २०२५ का लागि तयार गरिएको अमेरिकन-मेड इन्डेक्स (एएमआई) मा शीर्ष चार स्थान हासिल गरेका छन्।
यो सूची कार्स डटकमले वार्षिक रूपमा तयार गर्छ, जसले अमेरिकामा निर्माण गरिएका र किनिएका योग्य सवारीसाधनहरूको क्रमाङ्कन गर्छ।
टेकक्रञ्चका अनुसार एएमआईमा टेस्लाको वर्चस्व नयाँ होइन। टेक्सास र क्यालिफोर्नियामा आफ्ना चारवटा हल्का यात्रु सवारीहरू निर्माण गर्ने अमेरिकी कम्पनी टेस्ला विगत पाँच वर्षदेखि यो सूचकाङ्कमा सहभागी हुँदै आएको छ र हरेक वर्ष शीर्ष १० भित्र परेको छ। यस वर्ष टेस्लाको मोडल ३ लाई अमेरिकामा बिक्री हुने सबैभन्दा ‘अमेरिकन-मेड’ सवारीका रूपमा स्थान दिइएको छ।
तर उपभोक्ताहरू र उद्योगलाई नजिकबाट पछ्याउनेहरूका लागि समेत अचम्म लाग्ने कुरा के भने— ईभी (इलेक्ट्रिक सवारीसाधन) हरूले यो वर्षको अमेरिकन-मेड इन्डेक्समा शीर्ष १० मा ६ स्थान ओगटेका छन्। टेस्लाका मोडलहरू बाहेक, कियाको ईभी६ ले छैठौं र फक्सवागनको आईडी४ ले दशौं स्थान पाएका छन्।
वार्षिक इन्डेक्स तयार गर्दा पाँच प्रमुख आधारहरू प्रयोग गरिन्छ— अन्तिम एसेम्ब्ली कहाँ भएको हो, अमेरिकी र क्यानडाली पार्टपुर्जाहरूको प्रतिशत, प्रयोग भएका सबै इन्जिनहरूको मुल देश, ट्रान्समिसनहरूको मूल देश, र अमेरिकी उत्पादन कार्यबल।
कार्स डटकमका अनुसार, २०२५ मोडल वर्षका ४०० वटा सवारीसाधनहरूको अध्ययनपछि ९९ वटा सवारी सूचीमा परेका छन्। टेस्ला साइबरट्रक र रिभियन आरआईएसजस्ता भारी सवारीसाधनहरू, यद्यपि अमेरिका मै बनेका भए पनि, यो सूचीका लागि योग्य छैनन्।
कम्पनीको जर्जिया राज्यको वेस्ट पोइन्ट कारखानामा निर्माण हुने कियाको ईभी६ अर्को चकित पार्ने उपलब्धिमा पुगेको छ। यस सवारीमा ८० प्रतिशत अमेरिकी र क्यानडाली पार्टपुर्जाहरू प्रयोग गरिएको छ, जुन हाल अमेरिका भित्र बिक्री हुने सवारीहरूमा सबैभन्दा बढी हो।
कार्स डटकमले उल्लेख गरेअनुसार २०२४ को सूचीमा जम्मा आठवटा ईभी हरू मात्र योग्य भएका थिए। यस वर्ष ११ वटा ब्याट्री-इलेक्ट्रिक सवारीहरू एएमआई मा परेका छन्, जसमा फोर्ड एफ-१५० लाइटनिङ, हुन्डाई आइओनिक ५, र कियाको ईभी९ एसयूभी समेत छन्। यस्तै १९ वटा हाइब्रिड र प्लग-इन हाइब्रिड सवारीहरू पनि छन्।
यी तथ्याङ्कहरूले “उद्योगको विद्युतीकरणतर्फको धक्का केवल देखावटी थिएन” भन्ने संकेत दिन्छ।
प्रस्तावित कर तथा बजेट विधेयकअनुसार संघीय ईभी कर क्रेडिट अन्त्य हुने सम्भावना, मूल्यवृद्धि, र ट्यारिफहरूले विद्युतीकरणको यो यात्रा कतै किनारा लगाउने पो हो कि भन्ने प्रश्न उठेको छ।
प्रकाशित: ५ असार २०८२, बिहीबार