फोल्डेबल आईफोन सामसङको फोल्ड ८ भन्दा २०० डलर महँगो हुने सम्भावना

Technology Khabar ५ असार २०८२, बिहीबार

काठमाडौं ।

एप्पलले फोल्डेबल फोन बजारमा प्रवेश गर्ने तयारी गरिरहेको छ। तर एप्पलको फोल्डेबल फोन सस्तो नहुने पछिल्लो जानकारीले खुलाएको छ।

उपलब्ध जानकारी अनुसार ‘आईफोन १८ फोल्ड’ भनिने अफवाह रहेको एप्पलको पहिलो फोल्डेबल आईफोनलाई २,१०० अमेरिकी डलर देखि २,३०० अमेरिकी डलर सम्मको मूल्य पर्न सक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

एप्पलको पहिलो फोल्डेबल आईफोन यसको प्रत्यक्ष प्रतिस्पर्धी सामसङ ग्यालेक्सी जेड फोल्ड ८ भन्दा कम्तिमा २०० अमेरिकी डलर महँगो हुने बताइएको छ। हालको बाजर मूल्य अुनसार सामसङ ग्यालेक्सी जेड फोल्ड ८ को मूल्य लगभग १,८९९ अमेरिकी डलर हुनुपर्ने जनाइएको छ।

यो जानकारी चिनियाँ प्लेटफर्म वेइबोबाट आएको हो र एप्पलको बारेमा सही जानकारीको लागि परिचित टिपस्टरले विश्लेषक टिम लङको अघिल्लो अनुमानलाई पनि पुष्टि गरेको जनाइएको छ।

उनले गत महिना एप्पलको फोल्डेबल डिभाइस हालको जेड फोल्ड ६ भन्दा लगभग २० प्रतिशत महँगो हुनेछ भनि बताएका थिए। साथै सामसङले जेनेरेसन (पुस्ता) हरू बीच आफ्नो फोल्डेबल मोडेलहरूको मूल्य विरलै परिवर्तन गर्ने भएकोले जेड फोल्ड ८ मोडेलको लागि मूल्य भिन्नता महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ।

एप्पलको यो फोल्डेबल डिभाइसले आईफोन र आईप्याडको संयोजनलाई प्रतिनिधित्व गर्नेछ र सबै कुरा एकै ठाउँमा चाहने प्रयोगकर्ताहरूका लागि अर्थपूर्ण हुन सक्ने उल्लेख गरिएको छ। यद्यपि डिभाइसको पहिलो पुस्ताको उच्च मूल्य र जोखिमहरूले गर्दा व्यापक स्वीकृतिको लागि बाधा बन्न सक्ने उल्लेख गरिएको छ।

अर्कोतर्फ, यदि एप्पलले निर्माण गुणस्तर, दीर्घकालीन प्रयोग र प्रयोगकर्ता अनुभवको साथ मूल्यलाई औचित्य दिने र यदि बजारले दुईओटा डिभाइसलाई प्रतिस्थापन गर्न सक्ने एउटा डिभाइसको फाइदालाई पहिचान गर्छ भने, आईफोन १८ फोल्डले आफ्नो दर्शकहरू फेला पार्न सक्ने उल्लेख गरिएको छ।

यस सबैमा, दक्षिण कोरियाली कम्पनी सामसङलाई पनि फाइदा हुनेछ। सामसङले एप्पललाई फोल्डेबल ओएलईडी प्यानलहरू आपूर्ति गर्नेछ जुन यस डिभाइसको उत्पादनमा एक प्रमुख कम्पोनेन्ट हो।

फोल्डेबल फोन बजारमा एप्पलको प्रवेशले यस खण्डको विकासलाई अझ तीव्र बनाउनुका साथै यसले दुई प्राविधिक शक्तिहरू बीचको प्रतिस्पर्धालाई पनि तीव्र पार्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

प्रकाशित: ५ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया