Technology Khabar ५ असार २०८२, बिहीबार
काठमाडौं ।
लगातार लोकप्रियता हासिल गर्दै आएका स्ट्रिमिङ सेवाहरूले अन्ततः अमेरिकामा प्रसारण र केबल टेलिभिजनलाई उछिनेका छन्। स्ट्रिमिङ सेवाहरूले मे महिनामा प्रसारण र केबलको संयुक्त दर्शकहरूलाई उछिनेको दर्शक मापन फर्म निएल्सनले मंगलबार रिपोर्ट गरेको छ।
निएल्सनले आफ्नो मासिक रिपोर्ट द गेजमा स्ट्रिमिङले मे महिनामा अमेरिकामा कुल टिभी प्रयोगको ४४.८ प्रतिशत कब्जा गरेको बताएको छ जसले विगत चार वर्षमा युट्युब र नेटफ्लिक्स जस्ता स्ट्रिमिङ प्लेटफर्महरूको बढ्दो प्रभुत्वलाई प्रकाश पार्दछ।
मे महिनामा टेलिभिजन हेर्ने सबै दर्शकहरूको १२.५ प्रतिशत गुगलको युट्युबले मात्र ओगटेको र यसले स्ट्रिमिङ सेवाको लागि सबैभन्दा ठूलो दर्शक हिस्सा प्रतिनिधित्व गरेको जनाइएको छ।
प्यारामाउन्ट ग्लोबलको प्लुटोटिभी, रोकु च्यानल र फक्सको टुबी जस्ता निःशुल्क विज्ञापन–समर्थित स्ट्रिमिङ सेवाहरूले पनि लोकप्रियता प्राप्त गर्दै सामूहिक रूपमा टिभी दर्शकहरूको ५.७ प्रतिशत कब्जा गरेको छ। त्यसैगरी मे महिनामा टिभी दर्शकहरूको २० प्रतिशत प्रसारणले ओगटेको र केबलले २४ प्रतिशत ओगटेको निल्सनले रिपोर्ट गरेको छ।
कोभिड महामारीको समयमा मानिसहरू घरमै मनोरञ्जन खोज्न बाध्य हुँदा स्ट्रिमिङले ठूलो वृद्धि प्राप्त गरेको थियो र यसले मिडिया खपतमा व्यापक परिवर्तनलाई प्रतिबिम्बित गर्दछ भने दर्शकहरूले परम्परागत टिभी तालिकाहरू भन्दा माग अनुसारको सामग्रीलाई बढावा दिने खुलासा पनि भएको छ।
यो प्रवृत्तिले टेलिभिजन परिदृश्यलाई पुनः आकार दिइरहेको छ जसको प्रभाव विज्ञापनदाताहरू र कन्टेन्ट क्रियटर्स (सामग्री सिर्जनाकर्ताहरू) मा समान रूपमा परेको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: ५ असार २०८२, बिहीबार