Technology Khabar ५ असार २०८२, बिहीबार
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ युद्धले क्रिप्टोकरेन्सी आपूर्ति श्रृंखला पुनःसंरचना गरिरहेकाले बिटक्वाइन माइनिङ मेसिन बनाउने विश्वका तीन ठूला कम्पनीहरू अब अमेरिका भित्रै उत्पादन थाल्दैछन्। संयोगवश यी सबै कम्पनी चिनियाँ मूलका रहेका छन्।
बिटमेन, क्यानान र माइक्रोबीटी गरी यी तीन कम्पनीले विश्वको ९० प्रतिशतभन्दा बढी बिटक्वाइन माइनिङ उपकरण निर्माण गर्छन्। यी उपकरणहरू विशेष रूपमा बिटक्वाइन उत्पादन गर्न गणना गर्ने कम्प्युटरहरू हुन्।
अमेरिकी उत्पादन इकाई स्थापना गर्दा ट्यारिफबाट जोगिन सकिन्छ, तर चिप निर्माणदेखि उर्जा सुरक्षासम्मका विषयमा चीनसँगको सम्बन्धबारे अमेरिकाले राख्ने सुरक्षा चिन्ता झन चर्किन सक्छ।
“अमेरिका-चीन व्यापार युद्धले बिटक्वाइन आपूर्ति श्रृंखलामा सतही हैन, संरचनागत परिवर्तन गरिरहेको छ,” क्रिप्टो टेक प्रदायक कन्फ्लक्स नेटवर्कका प्रमुख प्राविधिक अधिकृत ग्वाङ याङले भने।
“अमेरिकी कम्पनीहरूका लागि यो ट्यारिफभन्दा माथिको विषय हो। यो रणनीतिक रूपमा ‘राजनीतिक रूपमा स्वीकार्य’ हार्डवेयर स्रोततर्फको मोड हो,” उनले थपे।
रोयटर्सका अनुसार बिक्रीका हिसाबले सबैभन्दा ठूली कम्पनी बिटमेनले गत डिसेम्बरदेखि अमेरिकामा खनन उपकरण उत्पादन सुरु गरिसकेको छ। यो निर्णय ट्रम्पले राष्ट्रपतिको चुनाव जितेपछि गरिएको “रणनीतिक कदम” भएको बताइएको छ।
क्यानानले भने अप्रिल २ मा ट्रम्पले आफ्नो “लिबरेसन डे” ट्यारिफ घोषणा गरेपछि अमेरिका भित्र परीक्षण उत्पादन सुरु गरेको बताएको छ। वरिष्ठ कार्यकारी लियो वाङले रोयटर्सलाई भने, “यो पहल परीक्षणकै रूपमा हो, किनभने ट्यारिफको अनिश्चित अवस्थाका कारण ठूलो लगानी गर्न सकिन्न।”
तेस्रो स्थानमा रहेको माइक्रोबीटीले एक विज्ञप्ति मार्फत भनेको छ कि कम्पनी “ट्यारिफको प्रभावबाट बच्नका लागि अमेरिका भित्र उत्पादनलाई प्राथमिकता दिइरहेको छ।”
यी तीन कम्पनीले यस्तो क्षेत्रलाई नियन्त्रण गर्छन् जसको मूल्य २०२८ सम्ममा १२ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। यो बिटक्वाइन माइनिङ, आवश्यक ऊर्जा र आईटी पूर्वाधारदेखि व्यापार प्लेटफर्मसम्म फैलिएको आपूर्ति श्रृंखलाको सबैभन्दा माथिल्लो तह हो।
प्रकाशित: ५ असार २०८२, बिहीबार