Technology Khabar ४ असार २०८२, बुधबार
काठमाडौं ।
जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो इन्जिनियरिङलाई सडकबाट अन्तरिक्षसम्म पुर्याएको छ। कम्पनीले हिजो मंगलबार पुनःप्रयोग गर्न मिल्ने रकेटको प्रोटोटाइप सफलतापूर्वक प्रक्षेपण तथा अवतरण गर्दै सन् २०२९ सम्म उपकक्षीय अन्तरिक्ष उडानको लक्ष्यतर्फ एक महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।
कम्पनीको अनुसन्धान शाखाले होन्डा आरएण्डडीले चकित पार्ने घोषणा गर्दै २०.६ फिट (६.३ मिटर) लामो प्रयोगात्मक रकेटलाई जापानको उत्तरी क्षेत्रमा रहेको ताइकीको परीक्षण स्थलमा ८८९ फिट (२७१ मिटर) उचाइसम्म उडाएर सफल अवतरण गराएको जनाएको छ।
ताइकी सहर अन्तरिक्ष अनुसन्धानका लागि परिचित छ। परीक्षणको उद्देश्य उडान स्थिरता तथा अवतरण क्षमताजस्ता पुनःप्रयोगयोग्य रकेटका लागि आवश्यक प्रविधिहरूको परीक्षण गर्नु रहेको हो।
“हाल होन्डाको रकेट अनुसन्धान आधारभूत चरणमै रहेको छ र यसलाई व्यावसायिक बनाउनेबारे कुनै निर्णय भइसकेको छैन, तर होन्डाले सन् २०२९ सम्म उपकक्षीय प्रक्षेपण सम्भव बनाउने प्रविधिक लक्ष्यका साथ अनुसन्धान अगाडि बढाउनेछ,” कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।
होन्डाले सन् २०२१ को सेप्टेम्बरमा सानो पुनःप्रयोगयोग्य रकेट निर्माण गर्ने प्रारम्भिक योजना सार्वजनिक गरेको थियो। त्यसपछि, सन् २०२४ को अन्त्यतिर अमेरिकास्थित होन्डामा स्पेस डेभलपमेन्ट डिभिजन स्थापना गरिएको थियो, जसले अमेरिकामा प्रविधि विकास र त्यहाँको अन्तरिक्ष उद्योगसँग सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य राखेको गिज्मोडोले उल्लेख गरेको छ।
त्यसयता, होन्डा अन्तरिक्ष उडानसम्बन्धी प्रविधिहरूको विकासमा सक्रिय देखिएको छ। अप्रिलमा कम्पनीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा इलेक्ट्रोलाइसिस प्रणाली परीक्षण गर्ने तथा पृथ्वी र अन्तरिक्ष दुवैमा उपयोग गर्न मिल्ने पुनःउत्पादक इन्धन सेल प्रणाली बनाउने योजना घोषणा गरेको थियो।
मे महिनामा होन्डाले निजी अन्तरिक्ष कम्पनी एस्ट्रोस्केल जापान इन्क. सँग मिलेर कक्षमा रहेको उपग्रहमा इन्धन भर्ने प्रविधि विकास गर्ने साझेदारी पनि गरेको थियो।
विगत केही वर्षदेखि कम्पनीले आफ्नो अन्तरिक्षसम्बन्धी गतिविधि गोप्य राखेको र पुनःप्रयोगयोग्य रकेटको परीक्षणसम्बन्धी विवरण सार्वजनिक नगरेका कारण मंगलबारको घोषणा एकाएक चकित पार्ने किसिमको बनेको हो।
होन्डा मात्र नभई अन्तरिक्ष दौडमा सामेल हुन खोज्ने कार निर्माताहरूमा टोयोटा पनि पर्दछ। यस वर्षको सुरुमा टोयोटाको अनुसन्धान शाखाले ताइकीमा आधारित अन्तरिक्ष कम्पनी इन्टरस्टेलार टेक्नोलोजिजमा लगानी गरेर प्रक्षेपण यानको सामूहिक उत्पादनलाई समर्थन गर्ने घोषणा गरेको रोयटर्सले जनाएको छ।
जापान सरकारले सन् २०३० को सुरुतिरसम्म अन्तरिक्ष उद्योगको आकार दोब्बर पारेर ८ ट्रिलियन येन (५५.२० अर्ब डलर) पुर्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ। त्यसका लागि निजी रकेट, उपग्रह तथा अन्य अभियानलाई अनुदान दिने बहु-अर्ब डलरको अन्तरिक्ष भेन्चर सुरु गरिएको छ।
आजको प्रक्षेपण र अवतरण सफलताले होन्डाको नयाँ अन्तरिक्ष कार्यक्रममा उत्साहजनक संकेत दिएको छ। “पुनःप्रयोगयोग्य रकेटको सफल परीक्षण पूरा गर्दै होन्डाले आफ्नो अनुसन्धानमा अर्को पाइला अगाडि बढाएकोमा हामी खुशी छौं,” होन्डाका विश्वव्यापी सीईओ तोशिहिरो मिबेले विज्ञप्तिमा भने। “रकेट अनुसन्धान होन्डाको प्रविधिक क्षमताको उपयोग गर्ने अर्थपूर्ण प्रयास भएको हाम्रो विश्वास छ।”
प्रकाशित: ४ असार २०८२, बुधबार