अमेरिकी राष्ट्रपति ट्रम्पले टिकटक बिक्री गर्ने म्याद तेस्रोपटक थपे

Technology Khabar ४ असार २०८२, बुधबार

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा आधारित बाइटडान्सलाई छोटो भिडियो एप टिकटकका अमेरिकी सम्पत्ति बेच्न जुन १९ को समयसीमा थप ९० दिनका लागि लम्ब्याउने भएका छन्। तर उल्लेखनीय प्रगति नभएमा बिक्री वा बन्द गर्नुपर्ने कानुनी प्रावधान रहेको ह्वाइट हाउसले मंगलबार जनाएको छ।

कांग्रेसले तोकेको टिकटक प्रतिबन्ध जनवरीमै लागू हुनु पर्ने भए पनि ट्रम्पले यसअघि दुईपटक कार्यान्वयनमा ढिलाइ गरिसकेका छन्। “राष्ट्रपति ट्रम्पले यस साता अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन् जसले टिकटक सञ्चालनमा रहोस् भन्ने सुनिश्चित गर्छ,” ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले मंगलबार भनिन्।

यससँगै समयसीमा सेप्टेम्बरको मध्यसम्म लम्बिनेछ।

“राष्ट्रपति ट्रम्प टिकटक बन्द होस् भन्ने चाहँदैनन्,” उनले थप भनिन्। प्रशासनले आगामी तीन महिना टिकटकको बिक्री प्रक्रिया पुरा गराउने प्रयासमा बिताउनेछ ताकि अमेरिकाली प्रयोगकर्ताले आफ्नो डाटा सुरक्षित रहेको सुनिश्चित गर्न सकून्।

रोयटर्सका अनुसार ट्रम्पले मे महिनामा टिकटकले २०२४ को निर्वाचनमा युवा मतदाताको समर्थनमा मद्दत गरेपछि आफूले जुन १९ को समयसीमा लम्ब्याउने बताएका थिए। मंगलबार ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै पुनः समयसीमा लम्ब्याउने सम्भावना व्यक्त गरेका थिए।

“सायद हो,” ट्रम्पले समयसीमा लम्ब्याउनेबारे सोधिएको प्रश्नमा भने। “सायद चीनको स्वीकृति चाहिन्छ तर मलाई लाग्छ हामी पाउँछौं। मलाई लाग्छ राष्ट्रपति सीले अन्ततः यसलाई स्वीकृति दिनेछन्।”

कानुनअनुसार, बाइटडान्सले टिकटकका अमेरिकी सम्पत्ति बेचिसकेको हुनुपर्थ्यो वा बिक्री प्रक्रिमा उल्लेखनीय प्रगति देखाएको हुनुपर्थ्यो, नभए जनवरी १९ बाट टिकटकको सञ्चालन बन्द हुनुपर्ने थियो।

ट्रम्पले जनवरी २० मा आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि उक्त प्रावधान कार्यान्वयन नगर्ने निर्णय गरेका थिए। उनले पहिलो पटक समयसीमा अप्रिल सुरुमा लम्ब्याएका थिए, र फेरि गत महिना जुन १९ सम्मका लागि पुनः लम्ब्याएका थिए।

मार्चमा ट्रम्पले चीनमाथिको ट्यारिफ घटाउन तयार रहेको बताएका थिए ताकि टिकटकको चिनियाँ स्वामित्व रहेको बाइटडान्ससँग सम्झौता गरेर एप बिक्री गर्न सकियोस्। १७ करोड अमेरिकीले प्रयोग गर्ने यो एप अमेरिकी लगानीकर्ताको बहुमत स्वामित्वमा आधारित नयाँ अमेरिकी कम्पनीमार्फत सञ्चालन गर्ने योजना बनाइएको थियो।

तर ट्रम्पले चिनियाँ सामानमाथि उच्च ट्यारिफ घोषणा गरेपछि चीनले स्वीकृति नदिने संकेत दिएसँगै यो सम्झौता हाललाई रोकिएको छ।

प्रकाशित: ४ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया