डिजिटल कर्णाली फ्रेमवर्क निर्माण गरिने, मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने

Technology Khabar ४ असार २०८२, बुधबार

काठमाडौं ।

कर्णाली प्रदेशले डिजिटल कर्णालीको अवधारणालाई मूर्त रूप दिन मध्यपश्चिम विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान समेतको सहकार्यमा डिजिटल कर्णाली फ्रेमवर्क निर्माण गर्ने भएको छ। हालै प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को प्रदेश बजेटमा यस्तो उल्लेख गरिएको छ।

‘प्रदेशमा नवीन सोच भएका युवाहरुलाई लक्षित गरी नयाँ उद्यम विकासको वातावरण निर्माण गर्न कर्णाली स्टार्टअप फण्ड र बिजनेस इन्क्युबेशन सेन्टर
डिजिटल कर्णालीको अवधारणालाई मूर्त रूप दिन मध्यपश्चिम विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान समेतको सहकार्यमा डिजिटल कर्णाली फ्रेमवर्क निर्माण गरिनेछ’, बजेटमा उल्लेख छ।

यसबाहेक शिक्षा, पर्यटन, यातायात, कृषि लगायतका क्षेत्रमा पनि प्रविधिको प्रयोगलाई जोड दिने गरी निम्न शीर्षकहरुका लागि निश्चित रकम छुट्याइएको छ:

  • निजी तथा सार्वजनिक क्षेत्रमा सूचना प्रविधिमा आधारित उद्यम व्यवसाय र सेवा प्रवाहको उपयोगलाई बढावा दिन जेन्जी पुस्तालाई लक्षित गरी सूचना प्रविधिजन्य उद्यम प्रवर्द्धनका लागि इन्क्युवेशन सेन्टर स्थापना गरिने छ।
  • सेवा प्रवाह र विकास निर्माणमा जनगुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन “हेल्लो मुख्यमन्त्री हटलाइन सेवा” लाई थप व्यवस्थित गरिनेछ। जनताको माग र समस्यालाई तत्काल सम्बोधन गर्दै सार्वजनिक जवाहदेहिता अभिवृद्धि गर्नको लागि “जनतासँग मुख्यमन्त्री” कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
  • भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति लिई सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम र निष्पक्ष बनाउँदै शासकीय स्वच्छता कायम गरिनेछ। सार्वजनिक सेवालाई पारदर्शी, सर्वसुलभ र छरितो बनाउनको लागि सूचना प्रविधिको अधिकतम उपयोग गरिनेछ।
  • लगानीकर्तालाई प्रदेशमा लगानीका सम्भाव्य क्षेत्रबारे जानकारी प्रदान गरी लगानी निर्णय गर्न सघाउ पुऱ्याउन कर्णाली प्रदेश लगानी पोर्टल विकास गरिनेछ। प्रदेशमा लगानीयोग्य परियोजना विकास तथा अन्य आवश्यक पूर्वतयारी सहित आगामी आर्थिक वर्ष कर्णाली लगानी सम्मेलनको आयोजना गरिनेछ।
  • युवाको प्राविधिक ज्ञान र सिप विकास गरी दक्ष सिपयुक्त जनशक्ति उत्पादन गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रदायक शिक्षण संस्थाहरूको गुणस्तर सुधार्न, परम्परागत तथा धार्मिक विद्यालय सञ्चालन गर्न तथा “हामी सुधाछौं हाम्रो विद्यालय” अभियानका लागि आवश्यक वजेटको व्यवस्था गरिएको छ।
  • प्रदेशभित्र दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्न तथा सबैलाई शिक्षाको अवसर दिलाउन प्राविधिक शिक्षामा स्वास्थ्य, इन्जिनियरिङ्ग, कृषि, भेटेनरी, पर्यटन र सूचना प्रविधि क्षेत्रमा उच्च शिक्षा अध्ययनरत प्रदेशका गरिब तथा जेहेन्दार विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्न आवश्यक रकम विनियोजन गरिएको छ।
  • पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटन सूचना तथा अभिलेख केन्द्र स्थापना गरिनेछ। पर्यटकलाई पर्यटकीय क्षेत्र र सेवा लगायतका विषयमा जानकारी प्रदान गर्न गन्तव्य कर्णाली एप निर्माण गरी सञ्चालनमा ल्याइनेछ।
  • रैथाने तथा निर्यातयोग्य उच्च मूल्य कृषि वस्तुहरूको पहिचान झल्किने “मूल्यवान” लोगो कार्यक्रमलाई ब्रान्डिङ्ग, क्यूआर कोड, भौगोलिक सङ्केत प्रमाणपत्र, लेबलिङ्ग तथा बजारीकरणमा प्रोत्साहन, रैथाने बाली प्रशोधन मिल स्थापना गरिनेछ।
  • सार्वजनिक शिक्षामा सुधार गरी नतिजामुखी बनाउदै गुणस्तर अभिवृद्धि गर्न कक्षा १० का विद्यार्थी लक्षित एसईई विद्यार्थी डिजिटल शिक्षा सहयोग कार्यक्रम सञ्चालन गरिनेछ। सामुदायिक विद्यालयलाई डिजिटल प्रविधियुक्त बनाई प्रतिस्पर्धी एवम् दक्ष जनशक्ति उत्पादन गर्न मुख्यमन्त्री डिजिटल शिक्ष कार्यक्रमलाई निरन्तरता दिइनेछ । दुवै कार्यक्रमका लागि रू. १६ करोड व्यवस्था गरिएको छ।
  • यातायात सेवामा विद्युतीय भुक्तानी प्रणाली लागू गरिनेछ। आगामी आर्थि वर्षदेखि प्रदेशबाटै स्मार्ट लाइसेन्स कार्ड छपाइ तथा वितरण कार्यको सुरुवात गरिनेछ। सुरक्षित सहर व्यवस्थापनको लागि वीरेन्द्रनगरका प्रमुख चोकहरूमा ट्राफिक लाइट जडान तथा राजधानीको बढ्दो सवारी चापलाई व्यवस्थित गर्न कर्णाली बसपार्क निर्माण कार्य अगाडि बढाइनेछ।

प्रकाशित: ४ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया