Technology Khabar ३ असार २०८२, मंगलवार
काठमाडौं ।
प्रतिवादी विकल पौडलेसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि अख्तियार दुरुपयोग नियनत्रण आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
विशेष अदालतले मिति गत जेठ ८ गतेको फैसलाबाट आंशिक सफाई दिएकोले उक्त फैसलाउपर असार २ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन्।
आयोगले विकल पौडेल, नविन कुमार पोखरेल, रमेश प्रसाद पोखरेल, मनिक मान महर्जन, राम बहादुर बुढा र शिरीष उपाध्याय समेतका प्रतिवादीहरु उपर सुरक्षण मुद्रण केन्द्रको लागि Power System in Security Printing Press and Pressurized Fuel Storage Tank खरिद कार्यमा अनियमितता भएको ठहर गरेको थियो।
उक्त खरिदमा अस्वभाविक लागत अनुमान तयार गरेको, गुणस्तरहीन ट्रान्सफर्मर खरिद/आपूर्ति, सम्झौताको शर्त विपरित अन्य मुलुकको सामान स्वीकार गरेको, कामै नगरी काम भए सरह भुक्तानी गर्ने कार्य गरेको र वास्तविक रुपमा आवश्यक नभएको र औचित्य पुष्टि नहुने समान खरिद गरेको देखिएकोले उक्त खरिद कार्यमा भ्रष्टाचारजन्य कार्य भएको पुष्टि हुन आएकोले बिगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
उजुरीमा विकल पौडेलको हकमा बिगो रू. ६९,०८,८१,८५४/७०, नविन कुमार पोखरेलको हकमा बिगो रू.४९,४६,३५,९४५/७०, रमेश पोखरेलको हकमा बिगो रु. २०,३८,९३,८२७/६३, मनिक मान महर्जनको हकमा बिगो रु.३,४४,६८,७२९/-, राम बहादुर बुढाको हकमा बिगो रु.१९,८८,९४,२८९/३२ र शिरीष उपाध्यायको हकमा बिगो रु.४०,०१,३९,७३६।- कायम गरिएको थियो।
उनीहरमाथि कानूनबमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी बिगो असुल हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले गत जेठ ८ गते आंशिक सफाई दिएको थियो।
सम्बन्धित समाचार
विकल पौडेललाई सुरक्षण मुद्रण केन्द्रको मुद्दामा २ वर्ष कैद र २५ करोड जरिवाना, पाँच जनाले पाए सफाई
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले २०८१ जेठ ८ गते फैसला गर्दै पौडेललाई २ वर्ष कैद र २५ करोड ४७ लाख १ हजार ६८ रूपैयाँ विगो र त्यति नै रकम जरिवाना हुने फैसला पनि गरेको थियो।
फैसलामा नवीनकुमार पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार १५९ रूपैयाँ जरिवाना दामासाहीसहित भराउन भनिएको थियो भने रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरिष उपाध्यायलाई सफाई दिइएको थियो।
प्रकाशित: ३ असार २०८२, मंगलवार