अमेरिकामा ट्रम्प मोबाइल क्यारियर सार्वजनिक, सुनौलो रङ्गको ट्रम्प टी१ फोन छिट्टै आउने

Technology Khabar ३ असार २०८२, मंगलवार

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराहरू डोनाल्ड जुनियर र एरिकले उनी पदमा रहँदा सञ्चालित ट्रम्प अर्गनाइजेसनले अब अमेरिकामा ‘ट्रम्प मोबाइल’ ब्राण्ड मार्फत वायरलेस सेवा प्रदान गर्ने घोषणा गरेको छ। यो एक एमभीएनओ (मोबाइल भर्चुअल नेटवर्क अपरेटर) हुनेछ भने यसले एटी एण्ड टी, भेरिजोन र टी–मोबाइलको वास्तविक नेटवर्कहरू प्रयोग गर्नेछ।

डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाका ४७ औं राष्ट्रपति हुन् र यस अघि उनी ४५ औं राष्ट्रपति पनि बनेका थिए। त्यसैले यसको योजनाको लागत प्रति महिना ४७.४५ अमेरिकी डलर हुने उल्लेख गरिएको छ। यसलाई ‘द ४७ प्लान’ भनिने बताइएको छ भने यसमा असीमित टक (कुराकानी), टेक्स्ट र डाटाको साथमा “कम्प्लिट डिभाइस प्रोटेक्सन” (यसको अर्थ जे भए पनि), ड्राइभ अमेरिका मार्फत २४/७ रोडसाइड असिस्टेन्ट (सडक छेउमा सहायता), टेलिहेल्थ सेवाहरू (भर्चुअल चिकित्सा हेरचाह, मानसिक स्वास्थ्य समर्थन, र प्रिस्क्रिप्शन औषधिहरूको लागि सजिलो अर्डर र डेलिभरी सहित), र १०० भन्दा बढी देशहरूमा निःशुल्क अन्तर्राष्ट्रिय कलिङ समावेश हुनेछन्।

त्यसैगरी ट्रम्प मोबाइलले एउटा विशेष स्मार्टफोन ‘टी१ फोन’ पनि बजारमा ल्याउने भएको छ। सुनौलो (गोल्ड) रङ्गको उक्त ‘टी१ फोन’ को मूल्य ४९९ अमेरिकी डलर हुनेछ। यो फोन अगस्ट वा सेप्टेम्बरमा आउने वेबसाइटले बताइएको छ र जुन कथित रूपमा “संयुक्त राज्य अमेरिकामा गर्वका साथ डिजाइन र निर्मित” हुनेछ भनि थप उल्लेख गरिएको छ।

टी१ फोनमा १२० हर्ज रिफ्रेस रेट भएको ६.७८ इन्चको एएमओएलईडी स्क्रिन, ५० मेगापिक्सेलको मुख्य क्यामरा, २ मेगापिक्सेलको डेफ्थ सेन्सर, २ मेगापिक्सेलको म्याक्रो क्यामरा, १६ मेगापिक्सेलको सेल्फी स्न्यापर समावेश गरिने छ। साथै डिभाइसमा २०वाट पीडी वायर्ड चार्जिङ भएको ५,००० एमएएच ब्याट्री हुने उल्लेख गरिएको छ। यसबाहेक डिभाइसमा ३.५एमएम हेडफोन ज्याक, फिङ्गरप्रिण्ट सेन्सर, १२जीबी र्याम, २५६जीबी विस्तारयोग्य स्टोरेज, एन्ड्रोइड १५ उपलब्ध हुने बताइएको छ। टी१ फोनमा समावेश गरिने चिपसेटको बारेमा भने कुनै जानकारी उपलब्ध नभएको उल्लेख गरिएको छ।

ट्रम्प मोबाइल वेबसाइटबाट फोन पहिले नै प्रि–अर्डर गर्न सकिने र आफ्नो फोनसँग ट्रम्प मोबाइल स्विच गर्न सकिने जनाइएको छ। कम्पनीले आवश्यक परेमा २४/७ प्रत्यक्ष अमेरिका–आधारित समर्थनको पनि वाचा गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया