Technology Khabar ३ असार २०८२, मंगलवार
काठमाडौं ।
आफ्ना केही पत्रकारहरूको इमेल अकाउन्टमा साइबर आक्रमण भएको विषयमा द वाशिङ्टन पोस्टले अनुसन्धान गरिरहेको छ। यसबारे एउटा आन्तरिक विज्ञप्तिमा उल्लेख गरिएको छ।
कार्यकारी सम्पादक म्याट मरेले पोस्टका कर्मचारीहरूलाई पठाएको ज्ञापनमा बिहीबार यो घुसपैठ पत्ता लागेको र समाचार संस्थाले तुरुन्तै अनुसन्धान सुरु गरेको भनिएको छ।
रोयटर्सका अनुसार सावधानी स्वरूप शुक्रबार सबै पोस्ट कर्मचारीहरूको पासवर्ड फेरिएको मरेले उक्त ज्ञापनमा उल्लेख गरेका छन्। साथै यो घुसपैठले अन्य पोस्ट प्रणालीहरू वा ग्राहकहरूमा असर गरेको नमानिएको पनि उनले बताएका छन्।
शुक्रबार राति सबै पोस्ट कर्मचारीहरूको प्रमाणिकरण पुनःसेट गरिएको थियो। द वाल स्ट्रीट डब्लूएसजेले यो घटनाबारे सबैभन्दा पहिले रिपोर्ट प्रकाशित गर्दै यो कुनै विदेशी सरकारको काम हुनसक्ने सम्भावना जनाएको छ।
डब्लूएसजेको रिपोर्ट अनुसार वाशिङ्टन पोस्टका कर्मचारीहरूलाई घुसपैठबाट पत्रकारहरूको माइक्रोसफ्ट इमेल अकाउन्टहरू प्रभावित भएका र आक्रमणकारीले कार्यसम्बन्धी इमेलहरूमा पहुँच पाउनसक्ने अनुमान गरिएको भन्ने बताइएको थियो।
जसका इमेल लक्षित भएका थिए, तिनीहरूमा राष्ट्रिय सुरक्षा तथा आर्थिक नीतिसम्बन्धी टोलीका सदस्यहरू सामेल थिए, जसमा चीनसम्बन्धी लेख लेख्ने पत्रकारहरू पनि थिए भन्ने रिपोर्टमा उल्लेख छ।
सन् २०२२ मा डब्लूएसजे प्रकाशन गर्ने न्युजकर्पमा पनि डिजिटल घुसपैठ भएको थियो। उक्त घटनामा अज्ञात सङ्ख्यामा पत्रकारहरूको इमेल अकाउन्ट र डाटाहरू प्रभावित भएका थिए।
प्रकाशित: ३ असार २०८२, मंगलवार