अमेरिकाद्वारा भियतनामलाई चीनमा बनेको प्रविधिको प्रयोग घटाउन दबाब

Technology Khabar ३ असार २०८२, मंगलवार

काठमाडौं ।

संयुक्त राज्य अमेरिका भियतनामसँग भन्सार वार्तामा चीनमा बनेको प्रविधिको प्रयोग घटाउने विषयमा दबाब दिइरहेको छ।

भियतनाममा तयार पारिएका उपकरणहरू अमेरिकामा निर्यात गर्नु अघि चीनमा निर्मित प्रविधि प्रयोग गरिएको भन्दै अमेरिका चिन्तित देखिएको स्रोतहरूले बताएका छन्।

एपल र सामसङजस्ता ठूला प्रविधि कम्पनीहरूको निर्माण कार्य भियतनाममा हुन्छ, जसले अक्सर चीनमा बनेका अंशहरूमाथि निर्भरता राख्छन्। मेटा र गुगलका ठेकेदारहरू पनि भियतनाममै छन्, जहाँ भर्चुअल रियालिटी हेडसेटदेखि स्मार्टफोनसम्म उत्पादन गरिन्छ।

रोयटर्सका अनुसार भियतनामी अधिकारीहरूले स्थानीय व्यवसायहरूसँग बैठकहरू गर्दै आएको र उनीहरूलाई घरेलु उत्पादन बढाउन आग्रह गरिएको छ। एक स्रोतका अनुसार कम्पनीहरू सहकार्य गर्न इच्छुक देखिएका छन् तर त्यसका लागि समय र प्रविधिको आवश्यकता पर्ने बताएका छन्।

ट्रम्प प्रशासनले विगतमा भियतनामलाई ४६ प्रतिशतसम्मको कठोर भन्सार शुल्क लगाउने धम्की दिएको थियो, जसले भियतनामी उत्पादनहरूका लागि अमेरिकी बजारमा पहुँच घटाउने र निर्यातमा आधारित देशको विकास मोडललाई असर पार्न सक्ने बताइएको थियो।

वार्तामा संलग्न एक व्यक्तिले भनेका छन्, “भियतनामलाई चिनियाँ उच्च प्रविधिमाथिको निर्भरता घटाउन आग्रह गरिएको छ।” अर्को व्यक्तिका अनुसार, यस कदमको उद्देश्य अमेरिकी आपूर्ति शृङ्खलाबाट चीनलाई अलग गर्ने प्रक्रियालाई तीव्र बनाउनु र भियतनामको औद्योगिक क्षमतामा वृद्धि गर्नु हो। भियतनाममा तयार हुने भर्चुअल रियालिटी उपकरणहरूलाई उदाहरणका रूपमा दिँदै उनीहरूले ती उपकरणहरूमा चिनियाँ प्रविधिको अत्यधिक प्रयोग भएको बताएका छन्।

यसबारे सबै स्रोतले गोपनीयताका कारण परिचय खुलाउन मानेनन्। ‘मेड इन भियतनाम’ ट्याग भएका उत्पादनहरूमा चिनियाँ सामग्रीको मात्राको सीमाबारे वा त्यसको आधारमा फरक भन्सार दर प्रस्ताव गरिएको छ कि छैन भन्ने जानकारी प्राप्त गर्न नसकसिएको रोयटर्सले उल्लेख गरेको छ।

एप्पल सामसङ मेटा र गुगलले रोयटर्सको प्रतिक्रिया आग्रहमा जवाफ नदिएका बताइएको छ। अमेरिकाले घोषणा गरेको जुलाई ८ को म्याद नजिकिँदै गर्दा सम्भावित सम्झौताको समयसीमा र दायरा अझै स्पष्ट छैन।

अमेरिका भियतनामले चिनियाँ प्रविधिमाथिको निर्भरता घटाओस्, र चिनियाँ सामानहरूलाई ‘मेड इन भियतनाम’ ट्याग दिएर कम भन्सारमा अमेरिका पठाउने गलत अभ्यासको अन्त्य गरोस् भन्ने चाहने स्रोतहरूले बताएका छन्। यो मागलाई भियतनामले पनि सम्बोधन गर्न खोजिरहेको छ।

भियतनामको उद्योग तथा वाणिज्य मन्त्रालयले रोयटर्सको प्रतिक्रिया आग्रहमा कुनै टिप्पणी गरेको छैन। तर मन्त्रालयले बाइतवार जानकारी दिँदै अमेरिकामा सम्पन्न तेस्रो चरणको वार्तामा केही प्रगति भएको भए पनि महत्त्वपूर्ण विषयहरू अझै बाँकी रहेको जनाएको थियो।

प्रकाशित: ३ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया