Technology Khabar २ असार २०८२, सोमबार
काठमाडौं ।
रामेछाप अस्पतालबाट गत बुधबार हेटौँडाका लागि रमाना लिएका डाक्टर केशव श्रेष्ठ आज बिहान साढे १० बजे हाराहारीमा फेसबुकमा ७४८ शब्दको स्टाटस लेखेर सम्पर्कविहीन भएका छन्।
उनको ‘सबै जनालाई अलविदा’ शीर्षकको स्टाटस रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा रातदिन नभनी काम गर्दा उल्टै नगरेको गल्तीको सजाय दिएर आत्महत्या गर्न बाध्य पारिएको’ भन्ने आशयको रहेको छ।
डाक्टर श्रेष्ठको व्यक्तिगत मोबाइल नम्बर स्विच अफ गरिएको छ। उनको अन्तिम लोकेशन काठमाडौंमा ट्र्याक गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापको भनाई छ।
यसबारेमा थप बुझ्दा जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले टेक्नोलोजी खबरसँग भने, ‘मैले पनि उहाँले स्टाटस राखेको देखेपछि तुरुन्तै उहाँलाई सम्पर्क गर्दा फोन लागेन। परिवारसँग पनि सम्पर्क हुन सकेको छैन।’
न्यौपानेका अनुसार उनले गत बुधबार अस्पतालबाट रमाना लिएका थिए। उनले आफू सम्पर्क स्थापना गर्ने र अन्य जानकारी संकलन गर्नेमै लागिरहेको र यसबारे जिल्ला प्रहरी परिसर काठमाडौंलाई डाक्टर श्रेष्ठको हुलियासहित जानकारी गराएको बताए। अन्तिम लोकेशन काठमाडौं देखिएकाले सहयोगका लागि खबर गरेको उनको भनाई थियो।
उनको स्टाटसमा सयौं कमेन्टहरु आएका छन् भने अधिकांशले हरेश नखान, फर्केर आउन आग्रह गरेका छन्। कतिपयले ह्याशट्यागमा नेपाल प्रहरी लेखेर उनको खोजीकार्यमा जुट्न आग्रह गरेका छन्।
प्रकाशित: २ असार २०८२, सोमबार