Technology Khabar २ असार २०८२, सोमबार
काठमाडौं ।
पछिल्लो समय डिजिटल मिडियाका सामग्रोका कारण चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गरिएको छ। डिजिटल मिडियामा प्रकाशित हुने सामग्रीका विषयमा नियमन निकायले ध्यान दिनुपर्नेमा जोड दिइएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भरतपुरमा आइतबार आयोजना गरेको कार्यक्रममा सबै डिजिटल सामग्री समाचार नहुने भएकाले कुन सञ्चार माध्यम हो भन्ने विषय छुट्याउनुपर्नेमा जोड दिएको छ। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले डिजिटल मिडियालाई नियमन गर्न जरुरी रहेको बताए।
पछिल्लो समय सामाजिक सञ्जालमा आएका सूचना सामग्री सबै सत्य नहुने र झुटा सामग्रीलाई समाचार बनाएर प्रकाशित गर्ने, दर्ता नगरी सञ्चारमाध्यम सञ्चालन गरेर हल्ला फैलाउने काम भइरहेकाले यस्ता गतिविधिको नियमन गर्नु आवश्यक भएको उनले बताए।
डिजिटल मिडियामा अनलाइन, युट्युब अनलाइन टिभीलगायतको नियमन गर्न कानुन निर्माणको चरणमा रहेको उनले जानकारी दिए। कार्यक्रममा प्रेस काउन्सिलका सदस्य विजयराज अधिकारीले पछिल्लो एक सातामा मात्रै आधा दर्जन डिजिटल सञ्चार माध्यमको समाचारकै कारण उजुरी परेको जानकारी दिए।
समाचार प्रकाशित भएको विषयलाई लिएर अदालतमा साइबर क्राइमको विषयमा मुद्दा परेकाले विवादित विषय भएका छन्। उनले कानुनले दिएको अधिकार प्रयोग गरेर समाचार प्रकाशित भएका विषय प्रेस काउन्सिलले हेर्ने भएकाले यो विषयमा सबैको ध्यानाकर्षण गराए। उनले पछिल्लो समय मुलुकमा एक करोड ५० लाख जनाले युट्युब हेर्ने गरिएको अनुमानित तथ्याङ्क रहेको जानकारी दिए। यस्तै एक करोड ६४ लाखले फेसबुक चलाउने गरेको विवरण रहेको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारोले अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएकाले त्यसै अनुसार लेख्न र बोल्न पाउने अधिकार भएको बताउनुभयो। सञ्चारकर्मी पत्रकार आफैँ जिम्मेवार भएर सामग्री प्रकाशित गरे समस्या नआउने उनको भनाइ थियो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले अभिव्यक्ति स्वतन्त्रता भए पनि सरकारले कुण्ठित गर्दै जान थालेको बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: २ असार २०८२, सोमबार