ब्लू ओरिजिनको आगामी अन्तरिक्ष पर्यटन उडानमा जाने यात्रुको सूची सार्वजनिक

  • Technology Khabar | २ असार २०८२, सोमबार
ब्लू ओरिजिनको आगामी अन्तरिक्ष पर्यटन उडानमा जाने यात्रुको सूची सार्वजनिक

काठमाडौं ।

जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनले आफ्नो आगामी अन्तरिक्ष पर्यटन उडानमा को-को यात्रु हुनेछन् भन्ने खुलासा गरेको छ।

६ जनासम्म यात्रु अट्ने यो सबअर्बिटल उडान कम्पनीको पश्चिम टेक्सासस्थित प्रक्षेपण केन्द्रबाट प्रक्षेपण हुनेछ तर यसको उडान मिति हालसम्म सार्वजनिक गरिएको छैन।

स्पेस डटकमका अनुसार यो मिसनलाई एनएस-३३ भनिएको छ, किनभने यो ब्लू ओरिजिन को पुनः प्रयोगयोग्य, स्वचालित न्यू शेफर्ड यानको ३३औं प्रक्षेपण हुनेछ। साथै यो कम्पनीको १३औं मानव अन्तरिक्षयात्रा हुनेछ।
ब्लू ओरिजिन ले दिएको जानकारीअनुसार एनएस-३३ मा उड्ने यात्रुहरू यस्ता छन्:

• एली कुइनर — वातावरण संरक्षणकर्मी, साहसिक यात्री र अन्वेषक। उनी “नेचर इज ननपार्टिजन ” नामक संरक्षण गैर-नाफामूलक संस्थाको बोर्ड सदस्य हुन्।
• कार्ल कुइनर — एलीका पति र संरक्षणकर्मी। उनी बिल्डिङ एण्ड ल्याण्ड टेक्नोलोजी नामक रियल स्टेट कम्पनीका अध्यक्ष हुन्, जसले दीर्घकालीन विकास र दिगोपनामा केन्द्रित समुदायहरू निर्माण गर्ने उद्देश्य राख्छ।
• लिल्यान्ड लार्सन — परोपकारी व्यक्ति, बगैंचावाला र मौरीपालक। उनी पहिले स्कुल बस सेवा र पारिवारिक व्यापार लार्सन ट्रान्स्पोर्टेशन सर्भिसेजका प्रमुख थिए।
• फ्रेडी रेसिग्नो जुनियर — कमोडिटी केबल्स नामक तार तथा केबल कम्पनीका संस्थापक, अध्यक्ष र सीईओ। उनी प्रतिस्पर्धात्मक गल्फ खेलाडी पनि हुन्।
• ओवोलाबी सालेस — वित्तीय सल्लाहकार तथा कानुनी व्यवसायी। उनले “इक्विटोक्रेसी” नामक पुस्तक लेखेका छन्। ब्लू ओरिजिनका अनुसार उनी “द सोल मेकर मिनिस्ट्री” का प्रमुख सदस्य हुन्, जसले ब्रह्माण्डको विविध प्रकृतिलाई ध्यानमा राख्दै विविधताको सन्देश दिन्छ। उनले यो मिसन विभेद तथा नागरिक अधिकार उल्लंघनका पीडितहरूलाई समर्पण गरेका छन्।
• जिम सिटकिन — अब सेवानिवृत्त भएका कानुन व्यवसायी र जीवनभरका साहसिक यात्री। हाल उनी मध्य युरोप र उप-सहारा अफ्रिकामा सरकारी र सामुदायिक नेताहरूसँग काम गर्ने गैर-सरकारी संस्थामा स्वयंसेवकको रूपमा कार्यरत छन्।

न्यू शेफर्ड हरेक उडान सामान्यतः १० देखि १२ मिनेटसम्म रहने गर्छ। यानको पहिलो चरणको बुस्टर पृथ्वीमा फर्केर सुरक्षित रूपमा अवतरण हुन्छ र पुनः प्रयोग गरिन्छ।

उडानको छोटो अवधिमा यात्रुहरूले केही मिनेटको तौलहीनता अनुभव गर्छन् र पृथ्वीको वक्रता कालो अन्तरिक्षको पृष्ठभूमिमा देख्न पाउँछन्।

प्रकाशित: २ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार