सप्तरीमा पनि अनलाइनबाट नागरिकता सिफारिस सुरु

Technology Khabar १ असार २०८२, आईतवार

सप्तरीमा पनि अनलाइनबाट नागरिकता सिफारिस सुरु
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

सप्तरीमा आइतबारदेखि अनलाइन नागरिकता सिफारिस सुरु भएको छ। नेपाली नागरिकता वितरणसम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यले असार १ गतेबाट अनलाइन सिफारिस लागु भएको हो।

सप्तरीका सबै स्थानीय तहलाई केन्द्रीय नागरिकता सूचना प्रणाली (सिसिआइएमएस) को प्रयोग गरी नागरिकताका लागि अनलाइन प्रणालीबाट सिफारिस गरेर पठाउन सम्पूर्ण तयारी पूरा
भइसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।

उनले गृह मन्त्रालय सूचना प्रविधि शाखाले जेठ २६ गते पठाएको पत्रानुसार असार १ देखि कार्यालयमा नागरिकतासम्बन्धी सेवा लिन आउने सेवाग्राहीले सम्बन्धित पालिकाको वडा कार्यालयबाट अनलाइन सिफारिस लिएर आउनुपर्ने बताए।

अनलाइन सिफारिसका लागि दुई महिनाअघिदेखि तयारी थालिएको र जिल्लाका १८ वटै पालिकाका जनशक्तिलाई त्यसका लागि तालिमसमेत दिइसकिएको प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानले जानकारी दिए।

आजको गोरखापत्रबाट

प्रकाशित: १ असार २०८२, आईतवार

तपाइको प्रतिक्रिया