Technology Khabar १ असार २०८२, आईतवार
काठमाडौं ।
एएमडीले आफ्ना चिप र सफ्टवेयर डिजाइन सुधार गर्न कृत्रिम बुद्धिमत्ता स्टार्टअपहरूसँग सहकार्य मजबुत बनाएको छ। एआई कम्पनीहरूले एनभिडियाको चिपको विकल्प खोजिरहेका बेला, एएमडीले प्रतिस्पर्धी हार्डवेयर बनाउने योजना विस्तार गर्दै सर्भर निर्माता जेडटी सिस्टम्सजस्ता कम्पनीहरू अधिग्रहण गरिरहेको छ।
तर सफल चिप बनाउने लक्ष्य हासिल गर्न सक्षम सफ्टवेयर पनि आवश्यक हुन्छ, जसले एआई विकासकर्ताले बनाएका प्रोग्रामहरू प्रभावकारी रूपमा चलाउन सकोस्। एएमडीले हालका हप्ताहरूमा केही साना सफ्टवेयर कम्पनीहरू अधिग्रहण गर्दै आफ्नो प्रतिभा बढाएको छ र ROCm भनेर चिनिने आफ्नै सफ्टवेयर सुधार्न पनि काम गरिरहेको छ।
“यो हाम्रो लागि सोचविचारसहितको, योजनाबद्ध र पुस्ता-पुस्तामा चल्ने यात्रा हुनेछ,” एएमडीका एआई विभाग प्रमुख वाम्सी बप्पनाले भने।
एएमडीले ROCm र अन्य सफ्टवेयर सुधार गर्ने प्रतिबद्धता जनाएको छ, जसले कोहियर जस्ता एआई स्टार्टअपहरूलाई लाभ पुर्याइरहेको छ। यसले छिटो सुधारहरू र नयाँ फिचरहरू थप्न सजिलो बनाएको रोयटर्सले उल्लेख गरेको छ।
कोहियरले ठूला व्यवसायहरूका लागि उपयुक्त एआई मोडल निर्माणमा ध्यान केन्द्रित गरेको छ, जुन ओपनएआईजस्ता कम्पनीहरूले बनाउने आधारभूत एआई मोडलहरूभन्दा फरक छन्।
कोहियरका सीईओ एडन गोमेजले भने अनुसार, अघिल्लो अवस्थामा एएमडी चिपमा कोहियरको सफ्टवेयर चलाउन हप्तौं लाग्थ्यो भने अहिले केही दिनमै सम्भव भएको छ। उनले कति प्रतिशत सफ्टवेयर एएमडी चिपमा भर पर्छ भन्ने खुलाएनन्, तर यसलाई “हाम्रो कम्प्युटिङको महत्वपूर्ण अंश” भनेका छन्।
एएमडीका कार्यकारी उपाध्यक्ष फरेस्ट नरोडका अनुसार, आगामी एमआई४५० सिरिजका एआई चिप डिजाइनमा ओपनएआईले ठूलो प्रभाव पारेको छ। एमआई४५० सिरिजको चिपलाई आधार बनाएर एएमडीले “हेलियोस” नामक नयाँ सर्भर अर्को वर्ष सार्वजनिक गर्ने योजना बनाएको छ। एआई कम्प्युटेशनका लागि सयौं वा हजारौं चिपहरू जडान गर्नुपर्ने भएकाले एनभिडियाले पनि यस्तै सर्भरहरू बनाएको छ।
एएमडीको सान जोसे कार्यक्रममा ओपनएआईका स्याम एल्टम्यानले उपस्थित भई दुबै कम्पनीबीचको सहकार्यबारे बोलेका थिए। नरोडका अनुसार, ओपनएआईको अनुरोधले एमआई४५० सिरिजको मेमोरी संरचना र हार्डवेयरले हजारौं चिपहरू स्केल गर्नसक्ने क्षमतामा प्रभाव पारेको छ। साथै, चिप कुन प्रकारका गणितीय कार्यहरूका लागि अनुकूल बनाउने भन्ने निर्णयमा पनि ओपनएआईको सुझावले महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
प्रकाशित: १ असार २०८२, आईतवार