Technology Khabar १ असार २०८२, आईतवार
काठमाडौं ।
डोइच टेलिकम र एनभिडिया मिलेर जर्मनीमा युरोपेली उत्पादकहरूका लागि औद्योगिक कृत्रिम बुद्धिमत्ता क्लाउड निर्माण गर्न सहकार्य गर्ने बताएका छन्। कम्पनीहरूले शुक्रबार दिएको जानकारीअनुसार, यो आफ्नो प्रकारको पहिलो परियोजना हुनेछ।
औद्योगिक एआई क्लाउडको कार्यान्वयन २०२६ भित्र सम्पन्न गरिने बताइएको छ।
रोयटर्सका अनुसार एनभिडियाले सो साइटका लागि १०,००० चिप्स आपूर्ति गर्नेछ भने डोइच टेलिकमले पूर्वाधार उपलब्ध गराउने र डाटा केन्द्र, सञ्चालन, बिक्री, सुरक्षा तथा एआई समाधानको जिम्मेवारी लिनेछ।
“रणनीतिक एआई पूर्वाधारमा लगानी हाम्रो देशको नवप्रवर्तन क्षमताका लागि अत्यन्त महत्वपूर्ण हो,” मर्जले एनभिडियाका सीईओ हुआङसँगको भेटपछिको विज्ञप्तिमा भनेका छन्।
“हामी एनभिडिया र यसको साझेदारहरूको प्रतिबद्धतालाई स्पष्ट रूपमा स्वागत गर्छौं। यो सहकार्य जर्मनीको डिजिटल सार्वभौमिकता र आर्थिक भविष्यका लागि एक महत्वपूर्ण कदम हुन सक्छ,” उनले थपे।
प्रकाशित: १ असार २०८२, आईतवार