Technology Khabar ३१ जेष्ठ २०८२, शनिबार
काठमाडौं ।
टेस्लाले आफ्नो ह्युमनोइड रोबोटिक्स कार्यक्रम अप्टिमससम्बन्धी गोप्य प्रविधि चोरी गरेको आरोपमा एक पूर्व इन्जिनियरविरुद्ध मुद्दा दायर गरेको छ। कम्पनीले बुधबार दायर गरेको उक्त मुद्दामा झोङ्जी “जे” लीले टेस्लाको “उन्नत रोबोटिक हातका सेन्सर” विकाससम्बन्धी गोप्य जानकारी चोरेर प्रोसेप्सन नामक प्रतिस्पर्धी स्टार्टअप सुरु गरेको आरोप लगाइएको छ।
मुद्दाका अनुसार लीले अगस्त २०२२ देखि सेप्टेम्बर २०२४ सम्म टेस्लामा काम गरेका थिए। उनले अप्टिमस सम्बन्धी गोप्य जानकारी दुईवटा व्यक्तिगत स्मार्टफोनमा डाउनलोड गरेका थिए।
टेस्लामा कार्यरत अन्तिम केही महिनामा लीले आफ्नो कार्यालय कम्प्युटरमा “ह्युमनोइड रोबोटिक हातहरू” सम्बन्धी अनुसन्धान गरेका थिए, साथै भेन्चर क्यापिटल र अन्य स्टार्टअप लगानी स्रोतहरूबारे इन्टरनेट खोजी पनि गरेका टेकक्रञ्चले उल्लेख गरेको छ।
“टेस्ला छाडेको एक हप्ताभित्रै प्रोसेप्सन दर्ता गरिएको थियो,” मुद्दामा उल्लेख गरिएको छ। “र केवल पाँच महिनामै, प्रोसेप्सनले सार्वजनिक रूपमा ‘उन्नत ह्युमनोइड रोबोटिक हातहरू’ सफलतापूर्वक निर्माण गरेको दावी गर्यो—जसको डिजाइन टेस्लामा लीले काम गरेको डिजाइनसँग अत्यन्त मिल्दोजुल्दो देखिन्छ।”
प्रोसेप्सनको वेबसाइटमा कम्पनी “विश्वकै सबैभन्दा उन्नत ह्युमनोइड हातहरू निर्माण गरेर मानव-रोबोट अन्तरक्रिया लाई क्रान्तिकारी बनाउने” लक्ष्यमा काम गरिरहेको लेखिएको छ।
टेस्लाको अप्टिमस रोबोटिक्स कार्यक्रम सन् २०२१ मा टेस्ला बोट निर्माण गर्ने घोषणा भएयता केही चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। सन् २०२२ मा कम्पनीले रोबोट अन्य नयाँ उत्पादनहरूसँगै सन् २०२३ मा सार्वजनिक गरिने बताएको थियो, तर अप्टिमस अझै विकासकै चरणमा छ।
सन् २०२४ को जुलाईमा एलन मस्कले रोबोट सन् २०२६ मा बिक्रीमा ल्याइने बताएका थिए। त्यसको केही महिनापछि अक्टोबर २०२४ मा आयोजित “वी, रोबोट ” कार्यक्रममा देखिएका अप्टिमस रोबोटहरू मुख्यतः टाढाबाट मानवद्वारा नियन्त्रण गरिएका थिए।
प्रकाशित: ३१ जेष्ठ २०८२, शनिबार