साइबर सुरक्षा तथा तथ्याङ्क प्रणालीमा अवरोध गरे ५ वर्षसम्म कैद १० लाखसम्म जरिबाना, अन्य सजाय के के छन्?

Technology Khabar ३१ जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

सरकारले हालै संघीय संसदमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ दर्ता गराएको छ।

सूचना प्रविधिको विकास, प्रबर्द्धन तथा नियमन गर्न, विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षरको सत्यता र विश्वसनीयता कायम राख्न, साइबर स्पेसमा रहेका सूचना, तथ्याङ्क वा विवरणको संरक्षण तथा व्यवस्थित प्रयोग गर्न र साइबर सुरक्षा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले सङ्घीय संसदले यो ऐन बनाएको बताइएको छ।

विधेयकको परिच्छेद १४ मा कसूर् र सजायबारे प्रावधान गरिएको छ। कुन कुन कुरा गर्नुलाई के कसूर भनिने र उक्त कसूर् गरेबापत् के सजाय हुने भन्नेबारे यो परिच्छेदको दफा ८० बाट १०३ सम्म उल्लेख गरिएको छ।

ऐनले तोकेका सजायहरु निम्न छन्:

दफा ८० मा मुलुकको साइबर सुरक्षा तथा तथ्याङ्क प्रणालीमा अवरोध सिर्जना गर्न नहुने शीर्षकमा लेखिएको छ-कसैले विद्युतीय प्रणालीको प्रयोग गरी मुलुकको साइबर सुरक्षा तथा तथ्याङ्क प्रणालीमा अवरोध सिर्जना गर्ने वा प्रतिकूल असर पार्ने कुनै कार्य गर्न वा गराउन हुदैन। कसूर गरेमा कसूरको मात्रा हेरी पाँच वर्षसम्म कैद वा दशलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

दफा ८१ मा विद्युतीय प्रणालीको कार्य सञ्चालनमा हस्तक्षेप गर्न नहुने शीर्षकमा ‘कसैले आफू वा अरु कसैलाई आर्थिक वा अन्य लाभ पुऱ्याउने नियतले अनधिकृत रुपमा विद्युतीय सूचना प्रविष्ट वा सम्प्रेषण वा हेरफेर गरी वा मेटाई वा लुकाई छिपाई विद्युतीय प्रणालीको कार्य सञ्चालनमा हस्तक्षेप गर्न वा कसैलाई आर्थिक नोक्सानी हुने गरी निजको संवेदनशील वित्तीय सूचना प्राप्त गर्न वा गराउन नहुने र यदि यस्तो गरेमा कसूरको मात्रा हेरी तीन वर्षसम्म कैद वा पाँचलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

दफा ८२ मा विद्युतीय प्रणालीको स्रोत सङ्केत नष्ट, परिवर्तन गर्न वा चोरी गर्न नहुने शीर्षकमा कसैले विद्युतीय प्रणालीमा प्रयोग हुने स्रोत सङ्केत तथा सूचनाको चोरी गर्न, अनधिकृत रुपमा नष्ट गर्न वा परिवर्तन गर्न नहुने उल्लेख छ। यदि गरेमा कसूरको मात्रा ही ३ वर्ष कैद वा ५ लाखसम्म जरिबाना वा दुवै हुने उल्लेख छ।

दफा ८३ को कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुयाउन, सूचना प्रविष्ट गर्न, हेरफेर गर्न नहुने शीर्षकमा कसैले विद्युतीय माध्यमको प्रयोग गरी कसैको युजर एकाउन्ट वा कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पु-याउन वा त्यस्तो प्रणालीमा प्रवेश गरी डाटाको अखण्डतामा फरक पर्ने गरी डाटा हेरफेर गर्ने वा मेटाउने कार्य गर्नु वा गराउनु नहुने लेखिएको छ।

साथै कसैले कुनै अप्रमाणिक विद्युतीय सूचनालाई प्रमाणिक हो भन्ने देखाउन वा कानूनी प्रयोजनको लागि प्रयोग गर्न पढ्न वा बुझ्न सकिने वा नसकिने जुनसुकै स्वरुपमा कुनै सूचना प्रविष्ट गर्न, हेरफेर गर्न, मेटाउन वा लुकाउन छिपाउन हुँदैन।

यदि यस्तो गरेमा कसूरको मात्रा हेरी दुई वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख छ।

८४ मा विद्युतीय प्रणालीमा अवरोध गर्न नहुने अन्तर्गत कसैले कुनै विद्युतीय प्रणालीको कार्य सञ्चालनमा बाधा पु-याउन वा प्रयोगकर्तालाई प्रणाली प्रयोगमा अबरोध गर्न रोक लगाउन वा हस्तक्षेप
गर्न हुँदैन।

यसो गरेमा कसूरको मात्रा हेरी तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

८५ ले विद्युतीय स्वरुपको सूचनालाई क्षति पुयाउन, अवरोध गर्न नहुने शीर्षकमा ‘कसैले गलत मनसाय राखी कसैको स्वामित्व वा नियन्त्रणमा रहेको विद्युतीय स्वरुपको सूचनालाई अनधिकृत रुपमा मेटाउन, नष्ट गर्न, हेरफेर गर्न, बिगार्न, बुझ्न नसकिने गरी परिवर्तन गर्न वा अर्थहीन, प्रयोगहीन वा निष्प्रभावी गराउन वा सूचनाको प्रयोगलाई अनधिकृत रुपमा बाधा पु-याउन, रोक लगाउन वा आधिकारिक व्यक्तिलाई सूचनामा पहुँच दिन ईन्कार गर्न हुँदैन,’ लेखिएको छ।

यदि यसो गरेमा कसूरको मात्र हेरी तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने लेखिएको छ।

दफा ८६ मा गोपनीयता भङ्ग गर्न नहुने लेखिएको छ। यस अनुसार कसैले यस ऐन विपरीत विद्युतीय माध्यमबाट कसैको वैयक्तिक विवरण संकलन गरेमा वा सूचना, जानकारी अनधिकृत रूपमा प्राप्त गर्न, त्यसको गोपनीयता भङ्ग गर्न वा अनधिकृत रूपमा कसैलाई उपलब्ध गराउन हुँदैन।

यस्तै कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिबिचमा विद्युतीय माध्यमबाट भएका कुनै वैयक्तिक संवाद वा कुराकानी वा सङ्केत सम्बन्धित व्यक्तिले मञ्जुरी दिएको वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीले आदेश दिएकोमा बाहेक कुनै यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन हुँदैन।

यदि गरेमा दुई वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने लेखिएको छ।

दफा ८७ मा झुट्टा प्रमाणपत्र प्रकाशन गर्न वा उपलब्ध गर्न, गराउन नहुने उल्लेख छ। दफा अनुसार कसैले प्रमाणीकरण निकायले प्रमाणपत्र जारी गरेको होइन वा सो प्रमाणपत्रमा सूचीकृत गरिएको ग्राहकले स्वीकार गरेको छैन वा सो प्रमाणपत्र निलम्बन वा रद्द भइसकेको छ भन्ने जानीजानी त्यस्तो प्रमाणपत्रको प्रकाशन गर्न वा अन्य कसैलाई कुनै व्यहोराले उपलब्ध गराउन हुँदैन।  यसो गरेमा कसूरको मात्रा हेरी दुई वर्षसम्म कैद वा दुईलाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

दफा ८८ को शीर्षक अश्लील सामग्री उत्पादन, वितरण, प्रकाशन, प्रसार वा खरिद बिक्री गर्न वा गराउन नहु रहेको छ। जस अनुसार कसैले विद्युतीय प्रणालीको माध्यमबाट कुनै अश्लिल सामग्रीको उत्पादन तथा सङ्कलन गर्न, बिक्री वितरण गर्न, प्रकाशन गर्न, प्रदर्शन गर्न, प्रसार गर्न वा सञ्चय गर्न हुँदैन ।
तर कुनै व्यक्तिले कुनै अनुसन्धान, कानून कार्यान्वयन, अध्यापन वा चिकित्सकीय प्रयोजनको लागि यौनजन्य सामग्रीको सम्प्रेषण, प्राप्ति वा सञ्चय गरेको प्रमाणिक रूपमा देखाउन सकेमा र त्यस्तो उद्देश्य पूरा हुनासाथ त्यस्ता सामग्री मेटाएमा यस दफा बमोजिमको कसूर मानिने छैन। यसो गरेमा कसूरको मात्रा हेरी दुई वर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

विधेयकको दफा ८९ गोप्य कोड चोरी गर्न नहुने सम्बन्धमा रहेको छ। यस अनुसार कसैले विद्युतीय माध्यमबाट फिसिङ तथा स्पुफिङ लगायतका विधि प्रयोग गरी कसैको युजर एकाउन्ट वा कम्प्युटर प्रणालीको पासवर्ड, पिनकोड, प्याटर्न तथा टोकन लगायतका गोप्य कोड चोरी गर्नु वा गराउनु हुँदैन।

यसो गरेमा कसूरको मात्रा हेरी दुई वर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

दफा ९० मा कम्प्युटर प्रणालीबाट डाटा चोरी गर्न नहुने लेखिएको छ। जस अनुसार कसैले विद्युतीय माध्यमको प्रयोग गरी कसैको युजर एकाउन्ट वा कम्प्युटर प्रणालीबाट वा स्निफिङ लगायतका विधि प्रयोग गरी नेटवर्कमा प्रसारित डाटालाई चोरी गर्नु वा गराउनु हुँदैन। यसो गरेमा कसूरको मात्रा हेरी दुई वर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

विधेयकको दफा ९१ मा कम्प्युटर प्रणालीमा अवाञ्छित एप्लिकेशन फैलाउन नहुने उल्लेख छ। यस अनुसारकसैले विद्युतीय माध्यमको प्रयोग गरी कसैको कम्प्युटर वा कम्प्युटर प्रणालीमा अनुमतिबिना अवाञ्छित एप्लिकेशन प्रवेश गराउने वा फैलाउने कार्य गर्नु वा गराउनु हुँदैन। यदि गरेमा कसूरको मात्रा हेरी दुई वर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

दफा ९३ ले इन्टरनेट अफ थिङ्समा आक्रमण गर्न नहुने बताउँछ। यस अनुसार कसैले इन्टरनेट अफ थिङ्गसमा आधारित उपकरण तथा सञ्जालमा अनुमति बिना आक्रमण गरी सो सञ्जालको निर्धारित काममा खलल पुऱ्याउने कार्य गर्नु वा गराउनु हुँदैन। यसो गरेमा कसूरको मात्रा हेरी दुई वर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

दफा ९४ को शीर्षक पहिचानको दुरुपयोग गर्न नहुने रहेको छ। जस अनुसार कसैले विद्युतीय माध्यममा रहेको व्यक्तिको निजी साँचो, पासवर्ड वा अन्य विद्युतीय स्वरुपमा रहेको पहिचानको स्थानान्तरण, नियन्त्रण वा प्रयोग गरी प्रचलित कानून बमोजिम कसूर मानिने कार्य गर्ने मनसायले पहिचानको दुरुपयोग गर्नु हुँदैन। यसो गरेमा कसूरको मात्रा हेरी एक वर्षसम्म कैद वा एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

दफा ९५ कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग गरी कसूर गरेमा सजाय हुने सम्बन्धमा रहेको छ। यस अनुसार कसैले यस ऐन बमोजिम कसूर मानिने कार्य कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग गरी गरेमा त्यस्तो कसूर सोही व्यक्तिले गरे सरह मानी सजाय हुनेछ।

दफा ९६ मा कसूर गर्न दुरुत्साहन गर्न नहुने उल्खेख छ। कसैले यस ऐन बमोजिमको कुनै कसूर गर्न दुरुत्साहन गरेमा वा अपराधिक षडयन्त्रमा संलग्न भएमा त्यस्तो व्यक्तिलाई मुख्य कसूरदारलाई भए सरहको सजाय हुनेछ।

दफा ९७ मतियारलाई हुने सजायसँग सम्बन्धित छ। यस ऐन बमोजिमको कुनै कसूर गर्न सघाउने वा अन्य कुनै ब्यहोराले मतियार भई कार्य गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई भएको सजायको आधा सजाय हुने उल्लेख गरिएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया