टेल्जी नेपालले ल्यायो २ नयाँ स्कुटर

Technology Khabar ३० जेष्ठ २०८२, शुक्रबार

काठमाडौं ।

टेल्जीले नेपाली बजारमा दुई नयाँ विद्युतीय स्कुटर भित्र्याएको छ। टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्स प्रालिले अपडेटसहितको टेल्जी टाइगर प्लस र नयाँ कार्गो स्कुटर भित्र्याएको हो। अपडेटसहितको टाइगर प्लस पुरानै मूल्यमा ल्याइएको टेल्जी नेपालले जनाएको छ।

कम्पनीले टाइगर प्लसको मूल्य २ लाख २७ हजार कार्गो स्कुटर ट्याङ्क जेडएसको मूल्य २ लाख २७ हजार र ट्याङ्क केएसको मूल्य २ लाख १७ हजार तोकेर बिक्री सुरु गरेको हो। टाइगर प्लसमा कम्पनीले इन्टेलिजेन्ट चार्जिङ फिचर थप गरेको छ। यसको मद्दतले यो स्कुटर ३ घन्टामा फुल चार्ज हुने र यसमा कम्पनीले रिभर्स गियर समेत थप गरेको बुझिएको छ।

नयाँ स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै टेल्जी नेपालका निर्देशक संजिव शिल्पकारले आफ्नो सबैभन्दा लोकप्रिय मोडल टाइगरको गुणस्तर वृद्धि गर्दै नयाँ मोडल ल्याएको बताए। उनले भने, ‘टेल्जी टाइगर एकदमै रुचाइएको स्कुटरमा हामीले ग्राहकको सुझाव अनुसार नै अपग्रेड गरेर ल्याएको छौं, आगामी दिनमा हामी अझै यसको गुणस्तर वृद्धिको काम गर्दै जानेछौं।’

यसै क्रममा नेपाली ग्राहक अब पहिला जस्तो नभएर गुणस्तरलाई ध्यान दिने भएको कम्पनीका अध्यक्ष राजेश राजकर्णिकारले बताए।

‘नेपाली बजारमा विद्युतीय स्कुटरमा धेरैनै प्रतिस्पर्धा छ। अब ग्राहकले स्कुटरको गुणस्तर, सर्भिस हेरेर मात्रै स्कुटर किन्ने अवस्था आएको छ। यस्तोमा हामीले हाम्रो सबैभन्दा उत्कृष्ट स्कुटरलाई अझै परिस्कृत गरेर ल्याएका छौं,’ उनले भने।

कम्पनीका अनुसार हाल ल्याइएको नयाँ स्कुटर टाइगर प्लसमा स्कुटरमा ३ किलोवाट रेटेड पावरको मोटर उपलब्ध छ। यो स्कुटरको टप स्पीड ७५ किलोमिटर प्रतिघण्टाको छ भने १६ डिग्री क्लाइम्ब क्षमता छ। यसमा कम्पनीले ७२ भोल्ट ३८ एम्पियर अवारको ग्राफिन ब्याट्री दिएको छ। यो स्कुटरलाई एकपटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ। यसलाई ३ घण्टामा फुलचार्ज गर्न सकिन्छ। यसमा मेन्टिनेन्स चार्जिङ सिस्टम उपलब्ध रहेको छ।

अन्य फिचरहरुमा यो स्कुटरको अगाडि पछाडि दुवैतर्फ डिस्क ब्रेकका साथै, फुल डिजिटल कन्सोल, स्मार्ट की, अन्डर सिट स्टोरेज जस्ता फिचर पाउन सकिन्छ। त्यस्तै, कार्गो स्कुटर ट्याकमा पनि टाइगर प्लसमा जस्तै ३ किलोवाट पावर रेटेड मोटर ३८ भोल्ट ७२ एम्पियर आवरको ग्राफिन ब्याट्री उपलब्ध छ। यसमा कार्गो बोक्नका लागि फ्रन्ट र रियरमा स्पेस दिइएको छ।

योम मा ई मोटर्स प्रालिले हाल नेपालमा टेल्जीका तीन मोडलका स्कुटर बिक्री गर्दै आएको छ। कम्पनीले नेपालका मुख्य १० सहरहरूमा आफ्नो बिक्री र बिक्री पछिको सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले टेल्जीका स्कुटरहरूमा लाइफटाइम निःशुल्क सर्भिस उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: ३० जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया