अब डिजिटल हस्ताक्षरबाटै दस्तावेज प्रमाणित गर्न सकिने

Technology Khabar २९ जेष्ठ २०८२, बिहीबार

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ २७ गते मंगलबार संघीय संसदमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ दर्ता गराएको छ।

सूचना प्रविधिको विकास, प्रबर्द्धन तथा नियमन गर्न, विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षरको सत्यता र विश्वसनीयता कायम राख्न, साइबर स्पेसमा रहेका सूचना, तथ्याङ्क वा विवरणको संरक्षण तथा व्यवस्थित प्रयोग गर्न र साइबर सुरक्षा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले सङ्घीय संसदले यो ऐन बनाएको बताइएको छ।

१६ परिच्छेद र ११३ दफा भएको उक्त विधेयक तत्कालै लागू हुने प्रस्तावनामा उल्लेख छ। यसको परिच्छेद ३ मा डिजिटल हस्ताक्षरबारे व्यवस्था छ। दफा १० मा भनिएको छ, ‘प्रचलित कानूनमा कुनै सूचना, लिखत, तथ्याङ्क वा अभिलेखलाई हस्ताक्षरबाट प्रमाणित गर्नु पर्ने भएमा त्यस्तो काम डिजिटल हस्ताक्षरबाट गर्न सकिनेछ।’

डिजिटल हस्ताक्षरले मान्यता पाउने प्रयोजनका लागि डिजिटल हस्ताक्षरको सिर्जना गर्न निम्न शर्त पूरा भएको हुनुपर्नेछ:

  • हस्ताक्षरको सिर्जना सम्बन्धी तथ्याङ्क र प्रमाणीकरण तथ्याङ्क हस्ताक्षरकर्तासँग मात्र सम्बन्धित भएको यकिन गर्न सकिने भएमा
  • हस्ताक्षरको सिर्जना सम्बन्धी तथ्याङ्क हस्ताक्षर गर्दाको बखतमा हस्ताक्षरकर्ताको मात्र नियन्त्रणमा रहेको पुष्टि गर्न सकिने भएमा
  • डिजिटल हस्ताक्षर गरिसकेपछि सम्बन्धित अभिलेख तथा हस्ताक्षर परिवर्तन भए नभएको पत्ता लगाउन सकिने भएमा

प्रचलित कानूनमा कुनै सूचना, लिखत, तथ्याङ्क वा अभिलेखलाई हस्ताक्षरद्वारा प्रमाणित गर्नु पर्ने वा कुनै लिखतमा कुनै व्यक्तिको हस्ताक्षर गरिएको हुनु पर्ने भनी उल्लेख गरिएको रहेछ भने त्यस्ता सूचना, लिखत, तथ्याङ्क वा अभिलेख यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित प्रक्रिया पूरा गरी डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएको भए त्यस्तो डिजिटल हस्ताक्षरले कानूनी मान्यता प्राप्त गर्ने विधेयकले व्यवस्था गरेको छ।

प्रकाशित: २९ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया