Technology Khabar २९ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले मंगलबार यदि युरोपेली संघले चाँडै निर्णय नगरेमा आउने केही महिनाभित्र १५ वर्षमुनिका बालबालिकाहरूका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने नियम लागू गर्ने घोषणा गरेका छन्।
यो घोषणा पूर्वी फ्रान्सको नोहेन्टस्थित एक विद्यालयमा शिक्षण सहयोगीमाथि भएको घातक चक्कु आक्रमणपछि जारी गरिएको हो।
उनले अन्तरवार्तामा भने, “यदि त्यो काम गरेन भने, हामी फ्रान्समै सुरु गर्नेछौं, हामी पर्खन सक्दैनौं,” फ्रान्सको सार्वजनिक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा भने।
त्यसै दिन प्रहरीले अर्को घटनासँग सम्बन्धित गरी विद्यालयमा झोला जाँचका क्रममा ३१ वर्षीय एक विद्यालय सहयोगीलाई चक्कुले हानी हत्या गरेको आरोपमा १४ वर्षे विद्यार्थीलाई सोधपुछ गरिरहेको रोयटर्सले उल्लेख गरेको छ।
प्रधानमन्त्री फ्राँस्वा बैरूले संसदमा यो घटना ‘एकल घटना होइन’ भनेका थिए। म्याक्रोनका अनुसार युवा हिंसामा सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका खेलेको छ। अन्तरवार्तापछि म्याक्रोनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखेका छन्, “प्लेटफर्महरूमा उमेर प्रमाणित गर्ने क्षमता छ, यो गर्नुहोस्।यस्तो नियमन विशेषज्ञहरूद्वारा समर्थित छ।”
म्याक्रोनका यी प्रस्तावहरू विश्वभरि बालबालिकाको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने अन्य कदमहरू बीच आएका छन्। उदाहरणका लागि, अष्ट्रेलियाले गत वर्ष १६ वर्षमुनिका प्रयोगकर्ताहरूका लागि सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने कानून पारित गरिसकेको छ।
हाल अधिकांश सामाजिक सञ्जालले १३ वर्षमुनिका बालबालिकालाई प्लेटफर्ममा स्वीकृत गर्दैनन्, तर अष्ट्रेलियाका नियामक निकायको प्रतिवेदनले बालबालिकाहरू ती प्रतिबन्ध सजिलै तोड्न सक्ने देखाएको छ।
प्रकाशित: २९ जेष्ठ २०८२, बिहीबार