बेलायतका वित्तीय कम्पनीहरूले यो वर्षको अन्त्यतिर एआई उपकरणहरू परीक्षण गर्न पाउने

  • Technology Khabar | २७ जेष्ठ २०८२, मंगलवार

काठमाडौं ।

बेलायतका वित्तीय कम्पनीहरूले यो वर्षको अन्त्यतिर कृत्रिम बुद्धिमत्ता (एआई) उपकरणहरू परीक्षण गर्न पाउने भएका छन्। सोमबारदेखि सुरु भएको नियामक “स्यान्डबक्स” कार्यक्रम देशको वित्तीय नियामक निकायले ल्याएको हो, जुन नवप्रवर्तन र आर्थिक वृद्धि प्रवर्द्धन गर्न सरकारद्वारा अघि सारिएको रणनीतिको हिस्सा हो।

फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए)ले अमेरिकी चिप निर्माता कम्पनी एनभिडियासँग साझेदारी गरेको छ, जसअनुसार “सुपरचार्ज्ड स्याण्डबक्स ” नाम दिइएको कार्यक्रममा उन्नत कम्प्युटिङ क्षमताहरू र विशेष एआई सफ्टवेयरहरू उपलब्ध गराइनेछ।

रोयटर्सका अनुसार बेलायतकी अर्थमन्त्री रेचेल रिभ्सले देशको आर्थिक वृद्धि अवरुद्ध गर्ने अवरोधहरू हटाउन नियामक निकायहरूलाई आग्रह गर्दै यसलाई सरकारको “पूर्ण प्राथमिकता” भएको बताएकी छन्।

अप्रिल महिनामा उनले एफसीए र बैंक अफ इंग्ल्याण्डअन्तर्गतको प्रुडेन्सियल रेगुलेशन अथोरिटीले नियमको झन्झट हटाउने आफ्नो आग्रहमा सकारात्मक प्रतिक्रिया दिएकोमा सन्तुष्टि व्यक्त गरेकी थिइन्।

एनभिडियाले यस पहलमार्फत कम्पनीहरूले सुरक्षित वातावरणमा एआई-आधारित नवप्रवर्तनहरू परीक्षण गर्न सक्ने बताएको छ। कम्पनीले आफ्नो तीव्र कम्प्युटिङ प्लेटफर्म प्रयोग गरी यस्तो वातावरण उपलब्ध गराउने जनाएको छ।

“एआईले वित्तीय क्षेत्रलाई मूलरूपमै रुपान्तरण गरिरहेको छ,”एनभिडियाका पूर्वी तथा मध्यपूर्वी एशिया क्षेत्रका वित्तीय प्रविधि प्रमुख योचेन पापेनब्रकले भने। उनले डाटा विश्लेषण, स्वचालन र जोखिम व्यवस्थापनमा भइरहेको सुधारको उल्लेख गरे।

उनले थपे, “स्यान्डबक्सले कम्पनीहरूलाई एनभिडियाको पूर्ण-स्ट्याक तीव्र कम्प्युटिङ प्लेटफर्म प्रयोग गरेर एआई नवप्रवर्तन अन्वेषण गर्न सुरक्षित वातावरण प्रदान गर्नेछ, जसले सम्पूर्ण उद्योगमा वृद्धि र कार्यक्षमता प्रवर्द्धन गर्नेछ।”

प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया