Technology Khabar २६ जेष्ठ २०८२, सोमबार
काठमाडौं ।
यदि तपाईंले कहिल्यै नासाको पर्सिभेरेन्स मङ्गल यानबाट पठाइएका कच्चा तस्बिरहरूको क्यारेसेल हेर्नुभएको छ भने, तपाईंले एक अनौठो वस्तु देख्नुभएको हुन सक्छ — सानो प्लेटमा कुँदिएको झिनो, जटिल भूलभुलैया, जसको पटक–पटक फोटो खिचिएको छ।
पर्सिभेरेन्स रोभर यो सानो भूलभुलैयासँग किन यति मोहित देखिन्छ? यो भूलभुलैया वास्तवमा एउटा ‘क्यालिब्रेसन टार्गेट’ हो — पर्सिभेरेन्सको “स्क्यानिङ ह्याबिटेबल इन्भाइरन्मेन्ट्स विथ रामन एन्ड लुमिनेसेन्स फर अर्ग्यानिक्स एन्ड केमिकल्स” नामक उपकरणका १० मध्ये एक, जसलाई छोटकरीमा शर्लक भनिन्छ।
शेर्लक होम्सबाट प्रेरित यो उपकरण मङ्गल ग्रहमा प्राचीन सूक्ष्म जीवनका संकेत देखाउने सम्भावित अर्ग्यानिक यौगिक र अन्य खनिजहरू पत्ता लगाउन डिजाइन गरिएको हो। यो कार्य ठ्याक्कै गर्न शर्लकलाई सावधानीपूर्वक क्यालिब्रेट गर्नुपर्छ, र त्यसैका लागि यो भूलभुलैया प्रयोग गरिन्छ।
रोभरको ७ फिट (२.१ मिटर) लामो रोबोटिक हातमा रहेको शर्लकले रामन र फ्लोरेसेन्स स्पेक्ट्रोस्कोपीजस्ता प्रविधिहरू प्रयोग गरेर मङ्गलका ढुङ्गाहरूको विश्लेषण गर्छ। यथार्थ नतिजा सुनिश्चित गर्न यसले विशेष गुण भएका सन्दर्भ सामग्रीहरूमार्फत नियमित रूपमा आफूलाई क्यालिब्रेट गर्नुपर्छ। यी सामग्रीहरू रोभरको अगाडिको भागमा जडित एउटा प्लेटमा राखिएका छन् — शर्लक क्यालिब्रेशन टार्गेट।
“क्यालिब्रेशन टार्गेटहरूले शर्लक को वेभलेंथ क्यालिब्रेसन सुधार गर्नु, लेजर स्क्यानर मिरर क्यालिब्रेट गर्नु, र लेजरको फोकस तथा अवस्था निगरानी गर्नु जस्ता विभिन्न काम गर्छन्,” शर्लक का डेप्युटी प्रिन्सिपल इन्भेष्टिगेटर काइल अकरर्टले स्पेस डट कमलाई बताएका छन्।
टार्गेट दुई पङ्क्तिमा छ, जहाँ प्रत्येकमा ध्यानपूर्वक छानिएका सामग्रीका साना टुक्राहरू राखिएका छन्।
माथिल्लो पङ्क्तिमा तीनवटा महत्त्वपूर्ण क्यालिब्रेशन सामग्री छन्: सेफायर डिस्कमा राखिएको एल्युमिनियम ग्यालियम नाइट्राइड, अल्ट्राभायोलेट–छरिने ‘डिफ्यूसिल’ नामक पदार्थ, र मङ्गलको उल्कापिण्ड SaU008 जसको खनिज संरचना पहिल्यै थाहा भइसकेको छ र मङ्गलीय भूगोलसँग वेभलेन्थ क्यालिब्रेसन मिलाउन मद्दत गर्छ।

यही पङ्क्तिमा त्यो भूलभुलैया पनि छ। किन भूलभुलैया? “शर्लक भनेको रहस्य सुल्झाउने हो, अनि त्योभन्दा राम्रो रहस्य के होला र? — भूलभुलैया!” अकरर्ट भन्छन्। लेजर स्क्यानर मिररको स्थिति क्यालिब्रेट गर्न र लेजरको फोकस परीक्षण गर्न तेज भिन्न स्पेक्ट्रल प्रतिक्रिया भएको टार्गेट चाहिन्छ, र यो भूलभुलैया त्यसका लागि उपयुक्त छ।
भूलभुलैया क्रोम लेपित २०० माइक्रोन बाक्ला रेखाहरूबाट बनेको छ (मानव कपालको चौडाइको लगभग दोब्बर) जुन सिलिका ग्लासमा छापिएको छ। “यो डिजाइन दोहोरिएको छैन र क्रोमको स्पेक्ट्रम सिलिका ग्लासभन्दा स्पष्ट भिन्न छ,” अकरर्ट भन्छन्। यसले लेजरको फोकस र सटिकता अत्यन्तै सूक्ष्मतासाथ मापन गर्न सकिने बनाउँछ।
यदि तपाईंले ध्यान दिएर हेर्नुभयो भने, भूलभुलैयाको बीचमा शेर्लक होम्सको आकृति पनि देख्न सकिन्छ। उपकरणको नामप्रतिको रमाइलो संकेत भए पनि यसको प्रायोगिक प्रयोजन छ। “शर्लक ले २०० माइक्रोन बाक्ला क्रोम रेखा र बीचको ५० माइक्रोन बाक्लो शेर्लक होम्सको सिलुएट छुट्याएर देखाउन सक्छ,” अकरर्ट बताउँछन्।
यस्तैगरी, शर्लक क्यालिब्रेशन टार्गेटको तल्लो भागले पनि दुई उद्देश्य पूरा गर्छ: उपकरण क्यालिब्रेशन र अन्तरिक्ष सूट सामग्रीको परीक्षण। यसमा पाँचवटा अन्तरिक्ष सूटमा प्रयोग हुने सामग्री छन्, जसमा तपाईंलाई चिनेका जस्तै टेफलोन, गोरेटेक्स र केभलार पनि छन्। र, त्यहाँ “रमाइलो” टार्गेट पनि छ — एउटा जियोक्याच मार्कर, जसको पछाडि पोलीकार्बोनेट टार्गेट छ, र यसको पनि शर्लकसँग सम्बन्ध छ।
दीर्घकालीन रूपमा तिनीहरूले कसरी काम गर्छन् भन्ने थाहा पाइयोस् भन्नका लागि यी सामग्रीहरू मङ्गल ग्रहको अवस्थामा परीक्षण भइरहेका छन्। यिनीहरुलाई भविष्यमा मानिसलाई मङ्गल पठाउने योजनाका लागि अत्यन्त महत्त्वपूर्ण छ।
“हामी शर्लक क्यालिब्रेसनमा यी सबै सामग्री प्रयोग गर्छौं,” अकरर्ट थप्छन्। “र अतिरिक्त रूपमा, यी सामग्रीहरूले भविष्यका अन्तरिक्षयात्रीको सुरक्षासम्बन्धी विज्ञानमा योगदान गर्छन्।”
अब, शर्लक क्यालिब्रेशन टार्गेटमा रहेको यी सबै शर्लक होम्स–सम्बन्धी रमाइला विवरण पर्याप्त नभए, अन्तिम कडी अझै छ। शर्लक सँग एउटा रंगीन क्यामरा पनि छ, जसले कहिलेकाहीं टार्गेटको तस्बिर खिच्छ, र यसको नाम हो — वाइड एङ्गल टोपोग्राफिक सेन्सर फर अपरेशन्स एण्ड इन्जिनियरिङ अर्थात् छोटकरीमा वाट्सन जो आर्थर कोनन डोयलको जासूसी उपन्यास बास्करभिलको शिकारी कुकुरको मुख्य जासूस शर्लक होम्सको सहायक पात्र हुन्।
प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार