
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालको सबै घरघरमा टेलिभिजन हेर्न सकिने गरी फोरजी सेवा सञ्चालन गर्ने तयारीमा लागिरहेको बताएका छन्।
नेकपा (एमाले) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आज भक्तपुरको डोलेश्वरमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशालामा उनले सरकारले एक वर्षभित्र सबै क्षेत्रमा देशभरी फोरजी सेवा पुर्याउने बताए।
उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई पूर्ण रुपमा सञ्चालनमा ल्याएर हुलाक टिकट, लेबल–स्टिकर, लालपूर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र तथा विद्यालयलगायत क्षेत्रका परिचयपत्रलगायत महत्वपूर्ण कागजपत्र यही छपाई गर्नेगरी तयारी गरेको बताए।
विसं २०८४ मा हुने निर्वाचनको एक वर्ष अगाडि नै एमालेले पार्टीको महाधिवेशन गर्ने पार्टीले तयारी गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले भने, “निर्वाचन भएको करिब तीन वर्ष भयो, चुनावपछिको ६० प्रतिशत कार्यकाल सकियो। अब २०८४ सालमा हुने निर्वाचनको एक वर्ष अगाडि नै महाधिवेशन गरेर पार्टीलाई अझै बलियो बनाएर निर्वाचनमा जाने तयारीमा जुटेका छौँ।”
पार्टीलाई सुधार र संशोधन गरेर लैजानुपर्ने आवश्यकता औँल्याउँदै उनले पार्टीमा हावी हुँदै गएको व्यक्तिवादी स्वार्थ र दक्षिणपन्थी अवसरवादलाई निमिट्यान्न पार्नु आजको टड्कारो आवश्यकता रहेको बताए। रासस
प्रकाशित: २२ जेष्ठ २०८२, बिहीबार