यस वर्षका लागि विश्वव्यापी स्मार्टफोन आपूर्ति वृद्धिको अपेक्षा १.९ प्रतिशतमा झर्यो: काउन्टरपोइन्ट

  • Technology Khabar | २२ जेष्ठ २०८२, बिहीबार
यस वर्षका लागि विश्वव्यापी स्मार्टफोन आपूर्ति वृद्धिको अपेक्षा १.९ प्रतिशतमा झर्यो: काउन्टरपोइन्ट

काठमाडौं ।

अनुसन्धान संस्था काउन्टरपोइन्टले बुधबार २०२५ का लागि विश्वव्यापी स्मार्टफोन आपूर्तिको वृद्धि अपेक्षा घटाएर १.९ प्रतिशतमा झारेको छ, जुन अघिल्लो ४.२ प्रतिशतमा को पूर्वानुमानभन्दा कम हो। अमेरिकाले लगाउने भन्सार शुल्कबारे अनिश्चितता भएकाले यस्तो निर्णय गरिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ मा भन्सार शुल्कको श्रृंखला घोषणा गरेपछि एप्पल जस्ता कम्पनीहरू आपूर्ति शृंखला समायोजन गर्न बाध्य भएका थिए। तर अमेरिकाले स्मार्टफोन र अन्य इलेक्ट्रोनिक उपकरणमा लागू हुने भन्सार शुल्कलाई ९० दिनको लागि स्थगित गरेको थियो।

रोयटर्सका अनुसार यो घट्दो प्रवृत्तिले उत्पादनकर्ताहरू थप चुनौतीमा रहेको देखाउँछ किनकि उनीहरूले पहिले नै कमजोर बिक्री, बढ्दो भू-राजनीतिक तनाव र भन्सार शुल्क विवादको सामना गरिरहेका छन्।

अनुसन्धान संस्थाले चीनबाट हुने वार्षिक आपूर्तिको वृद्धिदर पनि घटाएर लगभग स्थिर बनाएको छ। बढ्दो लागत उपभोक्तामा सारिने भएकाले एप्पल र सामसङको आपूर्ति पनि सुस्त हुने अपेक्षा गरिएको छ।

एप्पलले वार्षिक रूपमा २२ करोडभन्दा बढी आइफोन विश्वभर बिक्री गर्छ। अहिले अमेरिकामा आयात हुने कुल आइफोनमध्ये पाँचौं भाग भारतबाट र बाँकी चीनबाट आयात हुन्छ।

गत महिनामा इन्टरनेशनल डाटा कर्प (आईडीसी) ले पनि २०२५ का लागि विश्वव्यापी स्मार्टफोन आपूर्तिको वृद्धिदर २.३ प्रतिशतबाट घटाएर ०.६ प्रतिशतमा झारेको थियो। यो निर्णयको कारण भन्सार शुल्कले सिर्जना गरेको आर्थिक अनिश्चितता र उपभोक्ता खर्चमा आएको गिरावट भएको जनाइएको छ।

प्रकाशित: २२ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार