दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारी समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको पूर्व सीईओ रहेको खुलासा, होला त छानबिन?

  • Technology Khabar | २१ जेष्ठ २०८२, बुधबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारी समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको पूर्व सीईओ रहेको खुलासा, होला त छानबिन?

काठमाडौं ।

– साजन सुबेदी

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी कुनै बेला हाल समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अर्थात् सीईओ तथा कम्पनी सचिवको रुपमा कार्यरत रहेको खुलेको छ।

नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरी सोही समयदेखि केन्द्रीय आफैंले सञ्चालन गरिरहेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले गत जेठ १८ गते शनिबार कर्णाली डेभलपमेन्ट बैंकका पूर्व अध्यक्ष, तत्कालिक सञ्चालक/प्रमुख कार्यकारी अधिकृत ६४ वर्षीय राजेन्द्रवीर रायलाई पक्राऊ गरी बैंकिङ कसुर सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको विज्ञप्ति प्रकाशित गरेको थियो।

केन्द्रीय बैंकका तर्फबाट उक्त बैंकको अवस्थाबारे अध्ययन गरिरहेको छ भने प्रारम्भिक अनुसन्धानले संस्थाका हालका तथा यसअघिका उच्च पदस्थ व्यक्तिहरुको मिलेमतोमा २०७० साल अर्थात् सन् २०१३ देखि बैंकको रकम अपचलन हुन थालेको देखाएको छ।

यद्यपि गहन अनुसन्धानका क्रममा संलग्न व्यक्तिहरुको दायरा बढ्न सक्ने देखिन्छ।

ब्यूरोको प्रारम्भिक अध्ययनले संलग्न भई फरार रहेका व्यक्ति ४ भने पनि राय एक जनालाई मात्र पक्राऊ गरिएको छ। बाँकीका नाममा पक्राऊ पुर्जी पनि जारी गरिएको छैन।

हाल बाहिर आएको जानकारीअनुसार २०७० साल भन्दा यताको मात्र छानबिन हुन्छ कि त्यस अगाडिका पदाधिकारीहरुको पनि छानबिन हुन्छ भन्ने प्रश्नमा ब्यूरोका प्रवक्ता युवराज खड्काले टेक्नोलोजीखबरसँग भने, ‘घटनामा के कति रकम हिनामिना भएको छ र उक्त हिनामिनामा कसको संलग्नता रहेको देखिन्छ त्यस हिसाबले कुनै पनि समयमा कुनै पनि पदमा बसेको व्यक्तिमाथि छानबिन हुन्छ।’

उनकाअनुसार, उक्त घटनामा कति रकम हिनामिना भएको छ र उक्त हिनामिनामा को को संलग्न रहेको पाइन्छ त्यस हिसाबले कोमाथि छानबिन गर्ने वा नगर्ने भन्ने निर्भर गर्दछ।

यसको अर्थ, संस्थामा कार्यरत हुँदैमा सबै कर्मचारी कुनै विशेष घटनामा संलग्न हुनैपर्छ भन्ने हुँदैन। त्यसैले आवश्यक परेमा बैंकका सबै पूर्व विशिष्ट पदाधिकारीमाथि छानबिन हुनसक्ने देखिन्छ।

बिल्कुलै फरक क्षेत्रको अपचलनको घटना बाहिरिएपछि किन र कसरी जोडियो भण्डारीको नाम ?

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि पश गरेको आवेदनसँगै रहेका कार्यानुभवका दस्तावेज पल्टाउनुपर्ने हुन्छ। भण्डारीलाई सरकारले २०८० फागुनमा दूरसञ्चार प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो। नियुक्तिको समयमा पेश गरेको बिबरणमा उनी उक्त बैंकमा कार्यरत रहेको अनुभव पेश गरेका छन्।

प्राधिकरणको अध्यक्षमा नियुक्तिपछि उनी एकपछि अर्को घटनामा जोडिँदै आएका छन्। उनको अध्यक्ष नियुक्तिमै पनि उजुरी परेको थियो।

उनले एकै समय देशभित्र र बाहिरका समान प्रकृतिका कम्पनीमा उच्च पदमा बसेर काम गरेको पाइएको थियो। टेक्नोलोजीखबरले यसबारे प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। उनले लासेल बुरुण्डीमा ८ वर्ष सीईओका रुपमा जागिर खाएका थिए भने उक्त पदमा नियुक्त हुँदा उनी तत्कालीन स्पाइसनेपाल मेरो मोबाइलमा कार्यररत नै थिए। बुरुण्डीमा नियुक्त भएको २० दिनपछि मात्र उनले मेरो स्पाइस नेपालबाट राजीनामा दिएका थिए।

हेर्नुस् सम्बन्धित समाचार-

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले एकैसाथ जागिर खाएका थिए स्वदेश र विदेशका उस्तै प्रकृतिका कम्पनीहरुमा: नैतिक प्रश्न खडा

टेक्नोलोजीखबरले समाचार प्रकाशित गरेसँगै, वैशाखमा उनले पेश गरेको कार्यअनुभवको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। त्यसको केही दिनपछि अख्तियारले थप छानबिन गर्ने भन्दै त्यस बारेका बिबरणहरु बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेको थियो।

हाल सो बारेमा अख्तियारले छानबिन गरिरहेको छ।

हेर्नुस् सम्बन्धित समाचार-

प्राधिकरण अध्यक्ष भण्डारीको प्रमाणपत्रका विरुद्ध अख्तियारको छानबिन शुरु, मन्त्रालयलाई पठायो पत्र

यसबीचमा, टेक्नोलोजीखबरले पाएको उनको कार्यानुभवको कागजातहरु हेर्दा भण्डारीले सन् २००३ अगस्त ७ देखि सन् २००५ अप्रिल २८ तारिखसम्म करिब १ वर्ष ८ महिना २० दिन हाराहारी कर्णाली विकास बैंकको प्रमुख कार्यकारी अधिकृत अर्थात् सीईओ तथा कम्पनी सचिवका रुपमा काम गरेको देखिन्छ।

उनले सोही बेहोराअनुसारको आफ्नो अनुभव पत्र अध्यक्षको नियुक्तिका लागि पेश गरेका थिए।

सोही कर्णाली डेभलपमेन्ट बैंकलाई हाल केन्द्रीय बैंकले नियन्त्रणमा लिएर चलाउँदै आएको छ।

‘दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारी समेत यस बैंकिङ्ग अपचलनको अनुसन्धानको घेरामा त तानिने होईन्’ अहिलेका लागि प्रश्न मात्र उब्जिएको छ। तर यसले उनीमाथि थप नैतिक दबाब बढाउने देखिन्छ।

किनकी पूर्व अध्यक्ष, तत्कालिक सञ्चालक/प्रमुख कार्यकारी अधिकृत ६४ वर्षीय राजेन्द्रवीर रायले बैंकका विभिन्न समयमा नियुक्त भएका उच्च अधिकारीहरुलाई प्रभावित पारेर अर्बौंको घोटाला गरेको आशंका गरिएकोछ।

यस बारेमा केन्द्रिय बैंक र सीआईबीले थप अनुसन्धान गरिरहेका छन्।

प्रकाशित: २१ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...