सामाजिक सञ्जाल फेसबुक स्टाटसमार्फत् प्रधानमन्त्री ओलीले लेखे- ‘म झोले हो’

Technology Khabar १९ जेष्ठ २०८२, सोमबार

काठमाडौं ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा ‘म झोले हो’ भन्ने ब्यहोराको पोस्टर सहितको स्ट्याटस राखेका छन्।

घाम अस्ताउने समयको जस्तो पृष्ठभूमिमा चन्द्र सूर्य तथा चुच्चे नक्सा र त्यसको अगाडि दुवै हात जोडेर मुस्कुराइरहेको फोटोयुक्त पोस्टरमा सुन्तला रंगको ठूलो अक्षरमा ‘म झोले हो’ लेखिएको छ भने तलपट्टि सेतो रंगको सानो अक्षरमा लेखिएको छ, ‘एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो।’

झोले ‘शब्द’ लाई सामान्य रुपमा नकारात्मक वा पिछलग्गुका रुपमा प्रयोग गरिने गरिएकामा पोस्टरमा भने सकारात्मक रुपमा परिभाषित गर्न खोजिएको छ। ‘परिवर्तन र विकासको झोला बोकेर हिँड्ने व्यक्ति’ को रुपमा परिभाषित गर्दै ‘सामन्ती परिवारको दास बन्नु’ भन्दा झोले हुनु राम्रो रहेको अर्थ दिन खोजिएको छ।

यसलाई स्टाटसले पुष्टि गर्न खोजिएको छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न छोड्न नहुने उनको तर्क छ।

उनले पोस्टर पोस्ट गर्दा राखेको स्टाटस यस्तो छ, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ। भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।’

उनको फोटोमा आएका कमेन्टहरु थोरै सकारात्मक र अधिकांश नकारात्मक तथा अश्लील गालीयुक्त रहेका छन्।

प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया