Technology Khabar १९ जेष्ठ २०८२, सोमबार
काठमाडौं ।
मेटाले हालै सामग्री निर्माता (क्रिएटर) हरूका लागि नयाँ भिडियो सम्पादन एप ‘एडिट्स’ सार्वजनिक गरेको छ। यो नयाँ एप लोकप्रिय छोटो भिडियो सम्पादन एप क्यापकटसँग प्रतिस्पर्धा गर्न डिजाइन गरिएको हो, जुन बाइटडान्स अन्तर्गतको कम्पनीले बनाएको हो र धेरै क्रिएटरहरूले प्रयोग गर्दै आएका छन्।
टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयासका क्रममा क्यापकट केही समयका लागि अमेरिकी एप स्टोरबाट हटाइएको बेला मेटाले यसै वर्षको जनवरीमा एडिट्समा काम गरिरहेको जानकारी पहिलो पटक दिएको थियो।
अहिले क्यापकट पुनः डाउनलोड गर्न उपलब्ध भए पनि टिक टकको भविष्य अमेरिका भित्र अझै अन्योलपूर्ण छ, त्यसैले क्यापकट अनुपस्थित हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मेटा ले आफ्नो नयाँ एडिट्स एपमार्फत फाइदा उठाउने तयारी गरेको टेकक्रञ्चले उल्लेख गरेको छ।
यो एपमा उपलब्ध सुविधाहरूबारे मार्गनिर्देश तथा क्यापकटसँग यसको तुलना यस्तो छ:
एडिट्स एप आईओएस र एण्ड्रोइट दुवै प्लेटफर्ममा डाउनलोड गर्न सकिन्छ। एप डाउनलोड गरी खोल्नेबित्तिकै प्रयोगकर्तालाई आफ्नो इन्स्टाग्राम खाताबाट लगइन गर्न भनिन्छ।
त्यसपछि प्रयोगकर्ताले पाँचवटा मुख्य ट्याब देख्नेछन्: आइडियाज, इन्स्पिरेशन, प्रोजक्ट्स, रेकर्ड, र इन्साइट्स। आइडियाज ट्याबमा प्रयोगकर्ताले नयाँ भिडियोका लागि विचार लेख्न र रुचिकर रील्स सुरक्षित गर्न सक्छन्। इन्स्पिरेशन ट्याबमा ट्रेन्डिङ अडियो र लोकप्रिय रील्स खोज्न सकिने सुविधा दिइएको छ।
टेकक्रञ्चका अनुसार प्रोजक्ट्स ट्याबमा प्रयोगकर्ताले आफूले हालै सुरु गरेका भिडियोहरू सुरक्षित राख्न सक्छन् र फोनको ग्यालरीबाट भिडियो अपलोड गर्न पनि सक्छन्।
रेकर्ड ट्याबमार्फत एपमै भिडियो खिच्न सकिन्छ। अन्त्यमा इन्साइट्स ट्याबमा प्रयोगकर्ताले कति पटक हेरियो, कति दर्शकसम्म पुग्यो, कति फलोअर्स थपिए आदि आफ्नो सामग्रीको प्रदर्शनबारे जानकारी पाउन सक्छन्।
एडिट्स एपमा उपलब्ध केही विशेष फिचरहरू यसप्रकार छन्:
• ग्रीन स्क्रीन: एक ट्यापमै भिडियोको पृष्ठभूमि परिवर्तन र सम्पादन गर्ने सुविधा
• टाइमलाइन: भिडियोक्लिपहरू मिलाउने र सम्पादन गर्ने
• क्याप्शन्स: विभिन्न भाषामा स्वतः क्याप्सन थप्ने
• अडियो लाइब्रेरी: इन्स्टाग्रामको सङ्गीत लाइब्रेरीबाट गीत प्रयोग गर्ने
• कटआउट्स: वस्तुहरू छुट्याएर ट्र्याक गर्ने
• एनिमेट: स्थिर तस्बिरलाई भिडियोमा रूपान्तरण गर्ने
• अप्लाइ अल: एउटैपटक सबै क्लिपमा फिल्टर, इफेक्ट, ट्रान्जिसन आदि लागू गर्ने
• टाइमलाइन फ्रेम रेट सेलेक्टर: फ्रेमरेट परिवर्तन गरेर भिडियोलाई अझ राम्रो बनाउने
• अलाइनमेन्ट गाइड्स: भिडियो पोस्ट गर्दा मुख्य भागहरू ठीकसँग देखिने गरी स्थान मिलाउने
• बीट मार्कर्स: अडियोसँग मेल खाने गरी टेक्स्ट वा क्लिपहरू सजिलै मिलाउने
• फिल्टर्स: ३० वटा फरक फिल्टर विकल्पहरू
• ट्रान्जिशन्स: ३० वटा ट्रान्जिसन विकल्पहरू क्लिपहरू जोड्न
एडिट्स र क्यापकटबीच यस्ता केही फरक छन्:
दुवै एप छोटो भिडियो सम्पादनका लागि राम्रो विकल्प भए पनि क्यापकट ले एडिट्स भन्दा धेरै परिष्कृत सम्पादन उपकरण र एआई फिचरहरू प्रदान गर्छ।
यो स्वाभाविक पनि हो, किनभने एडिट्स क्यापकट भन्दा नयाँ एप हो। मेटा ले भविष्यमा एडिट्स मा थप सुविधाहरू थप्ने अपेक्षा गरिएको छ। साथै क्यापकट सँग एडिट्स भन्दा ठुलो सङ्गीत संग्रह पनि छ।
अर्को फरक कुरा के छ भने अहिले एडिट्स पूर्ण रूपमा निःशुल्क छ, तर क्यापकट ले नि:शुल्क संस्करणसँगै केही सुविधाहरू सशुल्क सदस्यतामा मात्र प्रदान गर्छ।
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीका अनुसार, भविष्यमा एडिट्समा पनि सशुल्क सुविधाहरू थपिने सम्भावना छ।
त्यसैगरी क्यापकट वेबमा पनि उपलब्ध छ, तर एडिट्स हाल मोबाइल एप मात्र हो। तर भविष्यमा यो परिवर्तन हुन भने सक्छ।
प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार