अनलाइन सर्च सम्बन्धि प्रतिस्पर्धा विरोधी निर्णयविरुद्ध पुनरावेदन गर्ने गुगलको योजना

Technology Khabar १९ जेष्ठ २०८२, सोमबार

काठमाडौं ।

अल्फाबेट अन्तर्गतको गुगलले शनिबार एउटा प्रतिस्पर्धा विरोधी निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएको छ, जसअन्तर्गत एक संघीय न्यायाधीशले अनलाइन खोज प्रतिस्पर्धा पुनर्स्थापना गर्न प्रतिस्पर्धा नियामकहरूले प्रस्ताव गरेको १० वर्षे कडा उपायभन्दा कम कडा विकल्पहरू सुझाएका छन्।

“हामी अदालतको अन्तिम रायको प्रतीक्षा गर्नेछौं। हामी अझै पनि विश्वास गर्छौं कि अदालतको प्रारम्भिक निर्णय गलत थियो र पुनरावेदनमा अगाडि बढ्ने आशामा छौं,” गुगलले एक्समा पोस्ट गर्दै उल्लेख गरेको छ।
वाशिङ्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश अमित मेहताले शुक्रबार गुगलको अनलाइन खोज र सम्बन्धित विज्ञापनमा रहेको अवैध एकाधिकार समाधानका प्रस्तावहरूमाथि अन्तिम सुनुवाइ गरेका थिए।

अप्रिलमा एक संघीय न्यायाधीशले गुगलले अनलाइन विज्ञापन प्रविधिका दुई बजारमा अवैध रूपमा एकाधिकार जमाएको बताएका थिए। अमेरिकी न्याय विभाग (डीओजे) ले गुगलले कम्तीमा गुगल एड म्यानेजर (जसमा कम्पनीको प्रकाशक विज्ञापन सर्भर र विज्ञापन एक्सचेन्ज पर्छ) बिक्री गर्नुपर्ने बताएका थिए।

डीओजे र अमेरिकी राज्यहरूको गठबन्धनले गुगलले खोज डाटा साझेदारी गर्नुपर्ने र एप्पललगायत अन्य स्मार्टफोन निर्माताहरूसँग नयाँ उपकरणहरूमा गुगललाई डिफल्ट सर्च इन्जिन बनाइराख्न दिइएको बहु-अर्ब डलरको भुक्तानी बन्द गर्नुपर्ने माग गरेका छन्।

रोयटर्सका अनुसार प्रतिस्पर्धा नियामकहरू गुगलको सर्च इन्जिनको एकाधिकारले उसको जेमिनीजस्ता कृत्रिम बुद्धिमत्ता उत्पादनहरूमा कसरी फाइदा पुर्‍याएको छ र त्यसको उल्टो असर पनि कस्तो पर्छ भन्नेबारे चिन्तित छन्।

गुगलका कानूनी प्रतिनिधि जोन श्मिड्टलाइनले सुनुवाइका क्रममा जेनेरेटिभ एआईले खोज प्रणालीको स्वरूपमा प्रभाव पारिरहेको भए पनि गुगलले प्रतिस्पर्धासम्बन्धी चिन्ताहरू समाधान गरिसकेको बताएका थिए।

अब उसले वायरलेस सेवा प्रदायकहरू र सामसङ इलेक्ट्रोनिक्स जस्ता स्मार्टफोन निर्माताहरूसँग कुनै पनि विशेष सम्झौता नगर्ने भएकोले ती कम्पनीहरू स्वतन्त्र रूपमा प्रतिस्पर्धी खोज र एआई एपहरू नयाँ उपकरणहरूमा राख्न सक्ने भएका रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया