Technology Khabar १७ जेष्ठ २०८२, शनिबार
काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको छ । मन्त्रालयले आजदेखि लत त्याग्न चाहनेका लागि ११३२ मा फोन गरी परामर्श लिनसक्ने व्यवस्थाको सुरुआत गरेको हो।
विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘हेल्पलाइन’ सेवाको शुभारम्भ गरे। उनले हेल्पलाइन सेवा सञ्चालन भएसँगै सुर्तीजन्य पदार्थ सेवन गर्नेको सङ्ख्यामा कमी आउनाका साथै यसको नियन्त्रणमा सकारात्मक पहल हुने विश्वास व्यक्त गरे।
स्वास्थ्यमन्त्री पौडेलले भने, “हेल्पलाइनबाट पाइने परामर्श सेवाबाट सुर्तीजन्य पदार्थ नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएका छौँ । सुर्तीजन्य पदार्थ नियन्त्रण, न्यूनीकरण तथा जनचेतना विस्तार गर्ने सम्बन्धमा केही उपलब्धि प्राप्त गरेका छौँ । उत्पादन र आयात रोक्न सकिँदैन, तर उपभोक्ता कसरी घटाउन सकिन्छ भन्नेतर्फ मन्त्रालय केन्द्रित भएका योजनाबद्ध काममा जोड दिएका छौँ ।”
उनले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न यस्ता पदार्थमा कर बढाउने, यसको सेवनलाई निरुत्साहित गर्न सबै तहमा जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए।
स्वास्थ्य सचिव डा विकास देवकोटाले पछिल्लो समय युवाहरूमा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग चिन्ताको विषय भएको बताए। उनले भने, “पछिल्लो समय भेपको प्रयोग बढेको देखिन्छ। युवाहरूलाई यसको लत नियन्त्रण गर्न के गर्ने भनेर मन्त्रालयले योजनाबद्ध रूपमा पहल गरिरहेको छ। प्रभावकारी नतिजाका लागि स्वास्थ्य मन्त्रालयसँगै सबै सरोकार भएकाको समन्वय र सहकार्य आवश्यक पर्दछ।”
दिवसका अवसरमा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्रीवितरण तथा सेवनलाई नियन्त्रण र न्यूनीकरण गर्न योगदान पुर्याउने सङ्घसंस्था र पत्रकार गरी सात जनालाई ‘स्वास्थ्यमन्त्री ब्लुमवर्ग जनस्वास्थ्य पुरस्कार’बाट पुरस्कृत गरिएको छ।
हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइने गरिएको छ । यस वर्षको नारा ‘सुर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौँ यो मोहजाल’ रहेको छ। रासस
प्रकाशित: १७ जेष्ठ २०८२, शनिबार