सोनीले अहिलेसम्म बेच्यो ७ करोड ७८ लाख पीएस५ यूनिट, मूल्य बढ्ने अपेक्षा

Technology Khabar १७ जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

सोनीले सन् २०२० मा लन्च भएको प्लेस्टेशन ५ को अहिलेसम्म ७ करोड ७८ लाख यूनिटहरू बिक्री गरेको छ जसमध्ये २८ लाख यूनिटहरू अन्तिम त्रैमासिकमा मात्रै ढुवानी गरिएको उल्लेख छ।

यो नतिजा प्लेस्टेशन ४ को बिक्री तथ्याङ्कसँग लगभग मिल्दोजुल्दो भएको बताइएको छ जुन सोही अवधिमा ७९.१ मिलियन यूनिट पुगेको थियो। यद्यपि, सन् २०२४ को आर्थिक वर्षका लागि कुल पीएस५ बिक्री १८.५ मिलियन यूनिट पुगेको बताइएको जुन सन् २०२३ मा बिक्री भएको २०.८ मिलियनको तुलनामा कम भएको उल्लेख गरिएको छ।

कन्सोलहरूको संख्यामा आएको गिरावट भिडियो गेम बिक्रीमा भएको वृद्धिले सन्तुलित गरेको उल्लेख छ जुन ९ प्रतिशतले बढेको थियो। यसले डिभिजनको सञ्चालन नाफालाई एक वर्ष अघिको तुलनामा ४३ प्रतिशतले बढाउन मद्दत गरेको उल्लेख गरिएको छ।

यो वृद्धि मुख्यतया थर्ड–पार्टि गेम्स सेल्स (तेस्रो–पक्ष खेल बिक्री) द्वारा संचालित भए ता पनि सोनीको आफ्नै खेल बिक्रीमा थोरै गिरावट देखिएको छ। यस वर्ष अहिलेसम्म एउटा मात्र पहिलो–पक्ष खेल रिलिज भएको छ जसमा डेथ स्ट्र्यान्डिङ २ः अन द बीच र घोस्ट अफ योतेई जस्ता प्रमुख टाइटल (खेल) हरू भविष्यमा रिलिज हुने अपेक्षा गरिएको छ।

सोनीले यो वृद्धि जारी रहने अपेक्षा नगरेको बताइएको छ। धेरैजसो बिक्री अमेरिकामा हुने भएकाले कम्पनीले ट्यारिफका कारण अर्को वर्ष बिक्रीमा १०० अर्ब येन (लगभग ७०० मिलियन अमेरिकी डलर) को घाटा हुने भविष्यवाणी गरेको छ। यस अघि कम्पनीले सन् २०२५ मा स्थिर राजस्वको चेतावनी दिएको थियो।

कम्पनीलाई अर्को धक्का भनेको रकस्टारले ग्राण्ड थेफ्ट अटो भीआई को स्थगन हो जुन अब सन् २०२६ को मे महिनाको लागि तय गरिएको छ।

आफ्नो आम्दानी कलको क्रममा, सोनीले उपभोक्ताहरूलाई ट्यारिफको अतिरिक्त लागत “पास गर्ने” विचार गरिरहेको बताए पनि पीएस५ वा अमेरिकी बजारको बारेमा विशेष रूपमा उल्लेख नगरेको बताइएको छ। अर्को शब्दमा भन्नु पर्दा, प्लेस्टेशन कन्सोल र खेलहरूको लागि थप मूल्य वृद्धि हुने अपेक्षा गरिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

सोनीले युरोप सहित धेरै बजारहरूमा पीएस५ को मूल्य पहिले नै बढाइसकेको छ। कम्पनीका सीईओ हिरोकी तोतोकीले पीएस५ उत्पादन अमेरिकामा सार्ने सम्भावनाको बारेमा पनि उल्लेख गरेको र यो “भविष्यमा विचार गरिनुपर्ने” कुरा हो भनि बताएका छन्।

प्रकाशित: १७ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया