Technology Khabar १६ जेष्ठ २०८२, शुक्रबार
काठमाडौं ।
राष्ट्रिय उपभोक्ता मन्चले राइड सेयरिङ र सेल्फ ड्राइभको विरुद्धमा नेपाल यातायात व्यवसायी महासंघले गरेको यातायात बन्द कार्यको विरोध गरेको छ।
नेपाल यातायात व्यवसायी महासंघ, गण्डकी प्रदेशले प्रदेशमा चल्ने विशेषतः पोखरामा चल्ने राइड सेयरिङ र सेल्फ ड्राइभको विरोधको नाममा आज शुक्रबारबाट नेपाल यातायात व्यवसायी महासंघ, गण्डकी प्रदेशले सार्वजनिक यातायात ठप्प पार्नु गलत भएको मन्चले ठहर्याएको छ।
राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनद्वारा विज्ञप्तीअनुसार, सार्वजनिक यातायात ठप्प हुँदा सर्वसाधारण उपभोक्तालाई पर्न गएको अप्ठ्यारोको लागी सम्बन्धित यातायात व्यवसायीहरु जिम्मेवार रहनु पर्ने भन्दै संस्थाले प्रदेश सरकारले राइड शेयरिङ सम्बन्धमा बनेको नियमावली, २०८२ को विरुद्धमा कानूनी उपचारमा नलागी आन्दोलनमा उत्रनु आफैँमा गलत हो।
“वर्षौदेखि यसरी रातो नम्बर प्लेटका सवारी साधनहरुले कानून विपरित कार्य गर्दा चुप लाग्ने यातायात व्यवसायीहरुले अहिले राइड सेयरिङ र सेल्फ ड्राइभको विरोध गर्नु भनेको भाडाका ट्याक्सी वा अन्य सार्वजनिक सवारी साधनले ठग्न पाएन भन्नु हो,” जारी विज्ञप्तीमा उल्लेख छ, “पर्यटकीय नगरी पोखरामा धेरै लामो समय देखि भाडाका ट्याक्सी वा अन्य सवारी साधनले मनलाग्दि तरिकाले यात्रुसँग भाडा असुल्ने र ठग्ने कार्य गर्दै आएकोमा कोही पनि अपरिचित छैन, आफुलाई सुधार गर्नुभन्दा अरुले आफनो बिजनेश खोस्न लाग्यो भनेर विरोधमा उत्रनु प्रतिस्पर्धी बजारलाई कुण्ठित गर्नु हो, यो सर्वथा कानून विपरित छ।”
यसैगरी, सर्वोच्च अदालतले समेत राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिईसकेको स्मरण गराउँदै नेपाल यातायात व्यवसायी संघले दादागिरी देखाइ नेपालको सार्वजनिक सडक आफ्नै मात्र हुनु पर्दछ भन्ने जस्तो गरी आन्दोलनमा उत्रने र प्रशासनलाई दवाव दिने कामको राष्ट्रिय उपभोक्ता मन्चले भत्सर्ना गर्दै विरोध गरेको छ।
प्रकाशित: १६ जेष्ठ २०८२, शुक्रबार