Technology Khabar १६ जेष्ठ २०८२, शुक्रबार
काठमाडौं ।
नेपाल प्रहरीको साइबर ब्यूरोले खल्ती, कनेक्टआईपीएसजस्ता नाममा आउने फिसिङ्ग लिङ्कहरू क्लिक नगर्न सबैलाई सचेत गराएको छ।
ब्यूरोले आज एक विज्ञप्ति प्रकाशित गरी सबैमा यो व्यहोरा सूचित गरेको हो।
ब्यूरोका अनुसार ‘पछिल्लो समयमा एटी_अलर्ट, द_अलर्ट लगायतका बल्क एसएमएस सेवा प्रदायकका प्रयोगकर्ताहरूका एकाउन्टमा अनधिकृत पहुँच पुयाई उक्त प्रयोगकर्ताका सम्बन्धित सदस्यहरूलाई -“Kha@ti : Your account will be locked in 6 hours. Verify immediately: t.co/tVhXLDaYXS” वा “Your connectIPS linked accounts have been suspended due to security reasons. Please complete the self-verify process https://rb.gy/jlrvw2 to regain access. ‘ जस्ता फिसिङ्ग एसएमएस पठाउने गतिविधि बढिरहेको छ।
त्यस्ता एसएमएसहरूले सम्बन्धित सदस्यहरूलाई एक प्रकारको डर त्रास देखाई तुरून्तै प्रतिक्रिया दिन बाध्य गराउने गरेको पाइएको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी दिपक राज अवस्थीले जानकारी दिए।
एसएमएस प्राप्त व्यक्तिले उक्त लिङ्कलाई क्लिक गर्दा खल्ती, कनेक्टआइपीएस लगायतका वालेटहरूको हुबहु देखिने वेबपेजमा पुर्याउने र लगइन समेत गर्न लगाई यूजरनेम/पासवर्डमा पहुँच पुर्याई उनीहरुको बैंक तथा वालेटमा रहेको रकम अन्यत्र ट्रान्सफर गर्ने प्रवृति बढिरहेको ब्यूरोको भनाई छ।
‘विद्युतीय माध्यम सम्बद्ध ठगीबाट जोगिन यस्ता फिसिङ्ग लिङ्कहरूलाई क्लिक नगर्न हुन तथा दुविधा भएमा सम्बन्धित वालेट/बैंकको आधिकारिक कार्यालयहरूमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न हुन साइबर ब्यूरो अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
यसअघि टेक्नोलोजीखबरले खल्तीको नाममा यस्तै किसिमको स्क्याम चलिरहेको बारेमा समाचार प्रकाशित गरेको थियो।
सम्बन्धित समाचार
खल्तीको नाममा स्क्याम: तपाईँलाई पनि बोनस पाएको फोन आएको त छैन? डिजिटल ठगीमा परिएला!
प्रकाशित: १६ जेष्ठ २०८२, शुक्रबार